फाइल तस्वीर

शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिकामा किरात समुदायले राष्ट्रिय चाडको रुपमा मनाउँदै आएको चासोक तङनाम (उधौली पर्व) मनाउन भव्य तयारी गरेका छन् ।

 

चासोक तङनाम (उधौली पर्व) व्यवस्थापन समिति अर्जुनधाराले १ नम्बर वडास्थित मदनपुरमा रहेको खेलमैदानमा मंसिर ८ गतेदेखि १० गतेसम्म पूजाआजा, खेलकुद तथा सांस्कृतिक झाँकीसहित चासोक तङनाम मनाउने तयारी गरेको हो ।

 

समितिका अनुसार ८ गते बिहान टाङटिङ खोलामा गालीश्राप बगाउने पूजाआजाको तयारी गरिएको छ भने दिउँसो मौलिक सांस्कृतिक विषयमा माध्यमिक विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको छ ।

 

यसैगरी, ९ गते बिहान मैत्रीपूर्ण भेट्रान फुटबल प्रतियोगिता आयोजना गरिएको समितिका सचिव खगेन्द्र लिङदेनले जानकारी दिए । उनका अनुसार अपराह्न ४ बजेपछि धान नाच, माङलाङ, केलाङ, साकेलासहित सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।

 

१० गते आदिवासी जनजातिको सांस्कृतिक धरोहरको रुपमा रहेको जातीय झाँकीहरुको प्रदर्शन, मौलिक खेलकुद तथा पुरस्कार वितरण र शुभकामना आदान प्रदानको कार्यक्रम राखिएको समितिका अध्यक्ष राजेश जबेगुले बताए ।

 

उनका अनुसार कार्यक्रम अवधिभर जातीय परिकारहरु याङबेन, वाचिपा, ढिडोलगायतका स्टलहरु रहने छ । कार्यक्रम सफल बनाउन विभिन्न ६ वटा उपसमिति गठन गरिएको छ ।