झापा । झापाको दमक ३ स्थित बेलडाँगी भुटानी शरणार्थी शिविरमा आज बिहान भएको आगलागीबाट तीन वटा घर जलेर नष्ट भएको छ ।

 

बिहान ३ बजेको समयमा बेलडाँगी शरणार्थी शिविर सेक्टर सी फोर, छाप्रा नम्बर ५३५ बस्ने भिमबहादुर घिमिरेको बाँसको टाटी बेरा र टिनको छानो भएको घरमा अचानक विद्युतको तार सट भई आगलागी भएको हो ।

 

आगलागीबाट ३ वटा घर, घरभित्र रहेका लताकपडा, भाँडावर्तन, अन्नपात, काठपातसमेत जलेर नष्ट हुँदा अन्दाजी ५ पाँच लाख बराबरको क्षति भएको छ ।

 

सो आगो दमक नगरपालिकाको दमकल, स्थानीयबासी र प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरी टोलीको सहयोगमा बिहान साढे ४ बजे पूर्णरुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।