शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिका ८ नम्बर वडामा रहेका विपन्न १७ घरपरिवारलाई शुक्रबार न्यानो कपडा उपलब्ध गराइएको छ ।
दमकको सहयोगी मनहरु नेपाल नामक संस्थाको सहयोगमा अर्जुनधारा ८ मा बसोबास गर्ने विपन्न व्यक्तिलाई घरमै पुगेर न्यानो कपडा वितरण गरिएको हो । संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत न्यानो कपडा वितरण गरिएको बताइएको छ ।
अर्जुनधारा ८ का वडाध्यक्ष कुमारप्रसाद उप्रेतीको समन्वयमा संस्थाका पदाधिकारी तथा स्थानीय जनप्रतिनिधिले ब्ल्याङकेट, डसना र म्याट्रेस एक एक थान उपलब्ध गराएका हुन् ।
संस्थाका अध्यक्ष भीमप्रसाद आचार्यको अध्यक्षता तथा वडाध्यक्ष उप्रेतीको प्रमुख आतिथ्यमा भएको एक संक्षिप्त कार्यक्रममा उनीहरुलाई न्यानो कपडा वितरण गरिएको हो ।
विभिन्न सामाजिक काम गर्दै आएको यस संस्थाले यसअघि दुःखमा परेका परिवार, सुत्केरीलाई पोषणयुक्त आहारा, आँखा शिविरलगायत कार्यक्रमको आयोजना गर्दै आएको संस्थाका उपाध्यक्ष सुमनराज रिजालले बताए ।
कार्यक्रममा वडाध्यक्ष उप्रेतीले सहयोगी मनहरुलाई धन्यवाद दिँदै मनकारी संस्थाहरुको सहयोगले विपन्न व्यक्तिको उद्दारमात्र नभइ उनीहरुको आर्शीवादले सत्प्रेरणा मिल्ने बताए ।
वडाको विकास निर्माणसँगै स्थानीय गरीबदुःखीको सेवा आफ्नो प्राथमिकतामा परेको बताउँदै उनले यस्ता सामाजिक कार्यमा संस्थाहरुसँग सहकार्य गर्न वडा कार्यालय तयार रहेको पनि उनले सुनाए ।
कार्यक्रममा संस्थाकी सदस्य सुजता गुरुङ मगर, दीपा अधिकारी, दिपेश खनाल, ख्याम ढुंगेल, जनप्रतिनिधि ऋषि घिमिरे, सुजता रसाइलीलगायतको उपस्थिति रहेको थियो ।