लागूऔषधको कारोबारमा पक्राउ परेपछि सार्वजनिक गरिएका व्यक्तिहरू । फाइल तस्वीर ।

मेचीनगर । झापामा १५ देखि ६० वर्षसम्मका ब्यक्तिहरु लागूऔषधको कारोबारमा संलग्न हुँदै आएको प्रहरीको तथ्यांकले देखाएको छ । याे तथ्यांक झापामा लागूऔषधको कारोबारमा संलग्न व्यक्ति पक्राउ परेपछि खुलासा भएकाे हाे ।

 

नेपाल प्रवेशको पूर्वीद्वार काँकरभिट्टा र भारतको पश्चिम बंगाल राज्यको पानीट्यांकी (भारतीय सिमानाका जोड्ने) लोकमार्ग पछिल्लो समय लागूऔषध ओसार पसार गर्ने सजिलो मार्ग बनेको छ । दैनिकजसो नेपाल प्रहरीले मेची पुलबाट यसमा संलग्नलाई नियन्त्रणमा लिन थालेपछि यो मार्ग सजिलो र यी उमेर समूहका व्यक्तिहरुको संलग्नता देखिएको प्रहरीले जनाएको छ ।

 

जिल्ला प्रहरी कार्यालय झापाको अभिलेखअनुसार चालु आर्थिक वर्ष २०८०/०८१ को फागुन महिनाको अन्त्यसम्म जिल्लामा लागूऔषधको कारोबारमा संलग्न २६५ जना मानिस पक्राउ परेका छन् । उमेर समूहको आधारमा सबैभन्दा बढी १६ देखि २५ वर्ष उमेरका १२० जना मानिस पक्राउ परेका हुन् ।

 

१६ वर्षमुनिका एकजना, २६ देखि ३५ वर्ष उमेर समूहका १०१ जना, ३६ देखि ४५ वर्ष उमेर समूहका ३१ जना, ४६ देखि ६० वर्ष उमेर समूहका १२ जना मानिस पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख, प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए ।

 

पक्राउ परेकामध्ये अधिकांश सेवनकर्ता रहेका छन् । अभिलेखअनुसार पक्राउ परेका कुल २६५ मध्ये २०१ जना सेवनकर्ता र बाँकी कारोबारी हुन् । अनुसन्धानका क्रममा वास्तविकता जे आउँछ अपराध उद्देश्यको आधारमा त्यही लेख्ने गरिएको कार्यालयको मुद्दा शाखाले जनाएको छ ।

 

लागूऔषध प्रयोगकर्ता र ओसार पसार गर्ने व्यक्ति पक्राउ पर्ने भए पनि यसमा संलग्न ठूला नाइके अहिलेसम्म पक्राउ पर्न नसकेको प्रहरी अधिकारीहरु बताउँछन् । राष्ट्रियताको आधारमा पक्राउ परेकामध्ये २५० जना नेपाली र १५ जना भारतीय रहेका छन् । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा कार्यालयमा लागूऔषधका १७४ वटा मुद्दा दर्ता भएका छन् ।