झापा । स्मृति, सम्मान र सत्प्रेरणालाई मुख्य लक्ष्य बनाएर झापामा स्थापित जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठानले यस वर्षदेखि राष्ट्रियस्तरको सम्मान वितरण गर्ने भएको छ ।
बिर्तामोडस्थित ग्रिण्ड फिल्ड वर्ल्ड स्कूलको अडिटोरियममा सोमबार भएको पत्रकार सम्मेलनमा पूर्ण-टुङ्ग आदर्श नागरिक सम्मान २०८० राष्ट्रिय प्रतिभा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी)लाई संयुक्तरुपमा प्रदान गर्न लागिएको जानकारी दिइयो ।
प्रतिष्ठानका अध्यक्ष गोपालकुमार बस्नेतले आफ्ना पिता टुङ्गबहादुर बस्नेतको इच्छाअनुसार पूर्ण टुङ्ग अक्षयकोषमार्फत एक लाख ११ हजार १११ रुपैयाँ नगदसहित पूर्ण-टुङ्ग आर्दश नागरिक सम्मान समर्पण गरिने जानकारी दिए ।
आफ्नी आमा पूर्णकुमारीसमेतको स्मृतिमा स्थापित अक्षयकोषबाट जय नेपाल प्रतिष्ठानमार्फत यही चैत ७ गते सो सम्मान वितरण गरिनेछ । भारतीय नाट्यकर्मी सीके श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमका बीच महजोडीलाई सो सम्मान प्रदान गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
भारतको दार्जिलिङ जिल्ला कालेङ्पोङ्गका स्थायी बासिन्दा श्रेष्ठ नाट्य कलाकार, नाटककार, कवि, गीतकार, राजनेता, राजनीतिक चिन्तक र कुशल संठगक हुन् । पत्रकारिता र साहित्यको क्षेत्रमा समेत स्थापित श्रेष्ठ भारत र नेपालका अनेक सम्मानबाट सम्मानित रहेको कार्यक्रममा जानकारी दिइयो ।
कार्यक्रममा पूर्ण-टुङ्ग अक्षयकोषका संस्थापक सदस्य जितेन्द्र बस्नेतले अक्षयकोषका बारेमा जानकारी दिँदै आफ्ना पिताले जीवनकालमै लोक कल्याणका निमित्त १ करोड रुपैयाँको कोष स्थापना गरिदिएको बताएका थिए ।
प्रतिष्ठाका उपाध्यक्ष राजकुमार पोखरेलले सहजीकरण गरेको कार्यक्रममा सञ्चाकर्मीहरुले विभिन्न जिज्ञासा राखेका थिए । कार्यक्रममा प्रतिष्ठानका सचिव लक्ष्मण ढकालले स्वागत गरेका थिए ।