झापा । अर्जुनधारा नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम असार १ गतेदेखि कार्यान्वयन गर्ने भएको छ ।

रोजगार कार्यक्रम नगरमा लागू भइसकेको बताउँदै नगरपालिकाका मेयर हरिकुमार रानाले सबै प्रक्रिया पूरा गरेपछि असार १ गतेदेखि कार्यान्वयनको तयारी गरिएको जानकारी दिए । उनका अनुसार यस नगरपालिकाले २७० जना नगरभित्रका आवेदनकर्तालाई छनौट गरेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक केशव ढुंगेलका अनुसार चालु आर्थिक वर्षका लागि ३ हजार १४१ जनाले आवेदन दिएका थिए । जसमा २७० जनालाई छनौट गरिएको हो । अन्य तीस जना वैकल्पिक उम्मेदवारका रुपमा राखिएको उनले बताए ।

प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न नेपाल सरकारबाट ३० लाख बजेट आएको मेयर रानाले बताए । उनका अनुसार असार १ गतेदेखि कार्यान्वयन हुने यस कार्यक्रममा २७० जनालाई ३० लाखको ७० प्रतिशत रकम छनौट भएका कामदारको ज्यालामा खर्च हुनेछ ।

त्यस्तै, २५ प्रतिशत रोजगार कार्यक्रम प्रयोगमा, ३ प्रतिशत औजार खरिद, १ प्रतिशत प्राविधिक खर्च र १ प्रतिशत कन्टेन्जेन्सीमा खर्च हुने बताइएको छ । छनौट भएका प्रत्येक व्यक्तिले ५१५ रुपैयाँ दैनिक ज्याला पाउने मेयर रानाले जानकारी दिए ।

छनौटमा परेका २७० जनालाई नगरका विभिन्न वडामा १५ दिन खटाइनेछ । जसअनुसार अर्जुनधारा नगर कार्यपालिकाको कम्पाउण्ड वरिपरि फलफूल बगैँचा निर्माण गर्ने, ७ नम्बर वडा कार्यालय कम्पाउण्डमा फलफूल बगैँचा निर्माण गर्ने, अर्जुनधारा जलेश्वरधामको कम्पाउण्डभित्र वृक्षारोपण गर्ने कार्यमा छनौट भएका व्यक्तिलाई खटाइनेछ ।

त्यस्तै, शनिश्चरेको प्रणामी मन्दिर कम्पाउण्डभित्र बगैँचा निर्माण गर्ने, शनिश्चरे बजारको सडक विभाजकमा उपयुक्त जातको बिरुवा रोप्ने, ३ नम्बर वडा कार्यालय वरिपरि बगैँचा निर्माण गर्ने र अर्जुनधारा खेल मैदानको बाह्य क्षेत्रमा वृक्षारोपण गर्नेजस्ता कार्य विभाजन गरिएको छ ।