झापा । संयुक्त भवन निर्माण मजदुर संगठन अर्जुनधारा नगर कमिटीले विपन्न मजदुरलाई सेफ्टी सामग्री प्रदान गरेको छ ।

शनिश्चरेको देवकोटा चोकमा आइतबार एक कार्यक्रमको आयोजना गरी चार जना व्यक्तित्वलाई सम्मानका साथै ५४ जना विपन्न मजदुरलाई निर्माणका क्रममा लगाउने गम बुट र खाना बोक्नका लागि हट केस प्रदान गरेको हो ।

संगठनका नगर अध्यक्ष सन्तोष नेम्वाङको अध्यक्षतामा भएको कार्यक्रममा संगठनका सहयोगी तथा अग्रज व्यक्तित्व रामप्रसाद भट्टराई, विजय घोष, मुना काफ्ले र आसारी खातुनलाई दोसल्ला ओडाएर सम्मान गरियो । कार्यक्रमका प्रमुख अतिथि साना निर्माण व्यवसायी संघ बिर्तामोडका अध्यक्ष सन्तोष राजवंशीले उनीहरुलाई हट केस र गम बुट पनि प्रदान गरेका थिए ।

संयुक्त भवन निर्माण मजदुर संगठन क्यूपेक नेपाल, काउन नेपाल र अखिल नेपाल निर्माण मजदुर संगठनको छाता संगठन हो । काउन नेपाल अर्जुनधारा नगरका सभापति अशोक राईका अनुसार २८ जना पुरुष मजदुरलाई गम बुट र २६ जना महिला मजदुरलाई हट केस प्रदान गरिएको हो । विपन्न मजदुरलाई करिब ५५ हजार मूल्य बराबरको सामग्री प्रदान गरिएको संयुक्तका अध्यक्ष सन्तोष नेम्वाङले बताए ।

संगठनका सचिव युवराज क्षेत्रीले स्वागत गरेको कार्यक्रममा क्यूपेक नेपालका झापा अध्यक्ष देवकुमार राई, अखिल नेपालका नगर अध्यक्ष शम्भु हेमरमलगायतले मन्तव्य राखेको कार्यक्रममा क्यूपेक नेपालका अर्जुनधारा नगर अध्यक्ष धनकुमार राईलगायतको उपस्थिति रहेको थियो ।