झापा । झापाको विर्तामोडस्थित कनकाई अस्पतालमा उपचारका क्रममा एक युवतीको मृत्यु भएपछि अस्पताल परिसर आज दिनभरतनावग्रस्त बन्यो ।

आक्रोशित बनेका मृतकका आफन्तजनहरूले अस्पताल तोडफोडमा उत्रिएपछि भीड नियन्त्रण प्रहरीले तीन राउन्ड आशु ग्यास प्रहार गर्दै लाठी चार्ज गरेको थियो। प्रहरीको लाठी चार्जबाट पीडित पक्षका केही व्यक्ति घाइतेसमेत भएका छन्। अस्पतालको लापरबाहीले युवतीको मृत्यु भएको भन्दै पीडित पक्षका आफन्तजनहरू युवतीको शव राखेर अस्पताल प्रशासन विरुद्ध नाराबाजी उत्रिँदै अस्पताल तोडफोडमा उत्रिएका थिए।

आक्रोशित समूहले अस्पतालको झ्याल ढोकामा तोडफोड गरेको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायब उपरीक्षक मोहनकुमार थापाले जानकारी दिए। तोडफोडबाट अस्पतालको सिसा फुटेको जनाइएको छ। अहिले अस्पताल परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि इलामको सूर्योदय नगरपालिका ९ फिक्कल निवासी २१ वर्षीया देवीका तामाङलाई गत बुधबार एपेन्डिसको शल्यक्रियाका लागि कनकाई अस्पतालमा भर्ना गरिएको थियो। बुधबार नै छोरीको एपेन्डिसको शल्यक्रिया भइसकेको बताउँदै मृतकका बुबा दावा तामाङले भने, ‘शनिबारसम्म कनकाई अस्पतालमा राखेर उपचार भइरहेको थियो, आइतबार बिहानसम्म उपचारमा संलग्न चिकित्सकहरूको टोलीले छोरीको अवस्थामा सामान्य छ भन्यो, फेरि केही समय बित्न नपाउँदै चिकित्सकले बिहान ८ बजे बिरामीको अवस्था खराब हुँदै गइरहेकोले अन्यत्र लैजानु भन्यो।’

चिकित्सकको सल्लाहबमोजिम छोरीलाई तत्काल थप उपचारका लागि कनकाई हस्पिटलकै एम्बुलेन्समा राखी विराटनगरको नोवेल अस्पताल लैजाँदा नोबेलका चिकित्सकले बिरामीको बाटोमै मृत्यु भइसकेको घटना मृतका बुबा तामाङले सुनाए।

चिकित्कसलाई विराटनगरमै युवतीको मृत्यु भएपश्चात् उनको शवलाई कनकाई अस्पताल परिसरमा राखेर उनका आफन्तजनहरूले विरोध प्रदर्शन गरेका थिए। उपचारमा संग्लन चिकित्सक सन्तोषकुमार मिश्रलाई कारबाहीको माग गर्दै उनीहरूले अस्पताल परिसरमै शव राखेर प्रदर्शन उत्रिएका थिए। प्रदर्शनमा उत्रिएका आफन्तजनहरूले अस्पताल तोडफोडमा गर्न उत्रिएपछि प्रहरीले बल प्रयोग गरेका थिए।

अस्पतालको लापरबाहीले युवती मृत्यु भएको पीडित पक्षले आरोप लगाएपछि अहिले कनकाई अस्पतालमा पीडितपक्षसँग वार्ता भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक मोहनकुमार थापाले जानकारी दिए पनि हुन सकेन ।

प्रहरीले पीडित पक्षमाथि अन्धाधुन्ध लाठी प्रहार गरी दमन गरेको भन्दै पहिले प्रहरीमाथि कारबाही गरिनुपर्ने अडान राखेका छन् । उनीहरुले इलाका प्रहारी कार्यालयका इन्चार्जमाथि कारबाही गरिएपछि मात्र अस्पताल प्रशासनसँग वार्ता बस्ने बताएका छन् ।

यसैबीच, प्रहरीले वार्तामा पीडित पक्षबाट मृतकका बुबा तामाङ, अस्पतालका अध्यक्ष महेन्द्र राई, बिर्तामोड ५ नम्बर वडा अध्यक्ष राजेन्द्र लिङदेन, सूर्योदय १० नम्बर वडा अध्यक्ष भाइचुङ भुटियालगायत रहेको जनाएको छ । मृतक युवतीको शव कनकाई हस्पिटलको आईसीयु कक्षमै राखिएको बताइएको छ ।