झापा । गत शनिबार कनकाई नहरमा डुबेर शिवसताक्षी नगरपालिका ७ का राजवीर ऋषिदेवकी १४ वर्षीया छोरी सन्जु ऋषिदेवको मृत्यु भयो । नहरमा नुहाउन गएकी बालिका डुबेको अवस्थामा मृत फेला परिन् ।
त्यसअघि गत वैशाख ३ गते शिवसताक्षी नगरपालिका १० निवासी ओमबहादुर बस्नेतका १२ वर्षीय छोरा विवेक बस्नेतको कन्काई नहरमै डुबेर मृत्यु भयो । शिवसताक्षी ७ स्थित कनकाई नहरको साइफन जालीमा अड्किएको अवस्थामा बालकको शव फेला परेको थियो ।
कन्काई नहरमा डुबेर वैशाख महिनामा दुईजना बालबालिकाको मात्र मृत्यु भएको होइन, करिब तीन वर्षमा सो नहरमा डुबेर २० जनाको ज्यान गइसकेको छ । २०८० सालमा ८ जना, २०७९ सालमा ६ जना र २०७८ सालमा ४ जनाको डुबेर मृत्यु भएको हो ।
२०८० मा मृत्यु हुने सबै ८ जना पुरुष हुन् । त्यसमध्ये दुई जना १४ र १५ वर्षका दुईजना बालक छन् । अरु ३२, ४६, ७०, ७५, ७७ र ८४ वर्षका हुन् । त्यस्तै २०७९ मा १५ महिना, ११ र १२ वर्षका तीन बालबालिकासहित ६ जनाको ज्यान गएको थियो ।
त्यस्तै २०७८ मा २१, ३९, ३९ र ५२ वर्षका एक महिला र ३ पुरुषको मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । मृत्यु हुनेहरुको तथ्यांकलाई हेर्दा बर्सेनि बढ्दै गएको छ । गर्मीयाममा नहरमा पौडी खेल्न जाँदा धेरै बालबालिकाहरुले ज्यान गुमाएका छन् ।
त्यस्तै ७० वर्षका माथिका व्यक्तिहरु मादक पदार्थ सेवन गरेर नहरमा चिप्लेर लड्दा मृत्यु हुने गरेको इलाका प्रहरी कार्यालय झिलझिलेका इन्चार्ज प्रहरी निरीक्षक अनिश बुढाथोकीको भनाइ छ । त्यसैगरी नहरमै नुहाउन, लुगा धुन, गाईवस्तुलाई पानी खुवाउन जाँदा अप्रिय घटना हुने गरेको उनले बताए ।
यसैबीच, कन्काई नहरमा हुने गरेको बढ्दो मानवीय क्षति रोक्न प्रहरीले सचेतना कार्यक्रम शुरु गरेको छ । कन्काई नहर भएर बग्ने शिवसताक्षी नगरपालिका वडा नम्बर ७, ९, १० र ११ का बासिन्दाहरुलाई प्रहरीले सचेत गराएको प्रहरी निरीक्षक बुढाथोकीले बताए ।
शिवसताक्षीका ती वडाहरुमा प्रहरीले सचेतनासहितको हार्डिङ बोर्ड राख्ने तयारी गरेको छ । वडा कार्यालयहरुसँग समन्वय गरेर प्रभावित वडाहरुमा होर्डिङ बोर्ड राख्ने तयारी गरिएको प्रहरी निरीक्षक बुढाथोकीले जानकारी दिए ।