भोजपुर । रुसी सेनामा भर्ती भएका भोजपुरका एक युवाका ज्यान गएको छ । पौवादुङमा गाउँपालिका ३, च्याङ्ग्रे औलियाका प्रितम राई (निरन)को मृत्यु भएको हो ।

 

६९ वर्षीय काजी राईले केही महिनाअघि मात्र रुसी सेनामा भर्ती भएका माइलो छोरो प्रितमको गत शनिबार एकाएक मृत्युको खबर पाएपछि परिवारमा ठूलो बज्रपात हुन पुग्यो।

 

गत भदौ अन्तिमतिर घरबाट विदेश लागेका प्रितम करिब ६ महिनाअघि रुसी सेनामा भर्ती भए। तर, गत मार्च महिनामै सैनिक हमलामा परी उनको मृत्यु भएको खबर झण्डै डेढ महिनापछि आएको थियो ।

 

गत वैशाख २२ गते प्रितमको मृत्यु भएको खबर पाएपछि सिंगो परिवारमा अन्धकार छाएको छ। उनको मृत्युले यतिबेला सिंगो औलिया गाउँ नै शोकमा डुबेको छ।

 

२०४४ साल वैशाख १ गते माइलो छोरोको रूपमा जन्मिएका प्रितम राई सानैदेखि मिलनसार र सहयोगी थिए। ३ भाइ छोरा र ५ बहिनी छोरी गरी ८ जना सन्तानमध्ये प्रितम घरमा सबैको प्रिय थिए। घरका जेठा छोरा किरण राई सोही पौवादुङमा गाउँपालिकाका अध्यक्ष पनि हुन्।