शनिश्चरे । आफ्ना सदस्यको क्षमता बृद्धि गर्नका लागि झापाको अर्जुनधारा ८ मा रहेको नारी चेतना समूहले सातदिने क्षमता अभिबृद्धि तालिम दिएकोे छ ।

 

संस्थाका सञ्चालकहरुलाई संस्था सञ्चालनको लागि आवश्यक ज्ञान र सीप प्रदान गर्ने उद्देश्यले तालिम आयोजना गरिएको समूहकी अध्यक्ष पम्फादेवी विश्वकर्माले जानकारी दिइन् । ललितपुरस्थित टेवा नेपालको आर्थिक सहयोगमा आयोजित उक्त तालिममा १७ जना महिला सहभागी थिए ।

 

समूहकी अध्यक्ष विश्वकर्माको अध्यक्षता र अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीको प्रमुख आतिथ्यमा आज आयोजित समापन कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

 

अर्जुनधारा प्रेस क्लबका सचिव एवम् अधिवक्ता नरेश खातीले सहजीकरण गरेको तालिम समापनमा बिरीङ जलाधार क्षेत्रका केन्द्रीय अध्यक्ष छविलाल शिवाकोटी, अर्जुनधारा प्रेस क्लबका अध्यक्ष रमेश समदर्शी, पातञ्जल योग समिति अर्जुनधाराकी उपाध्यक्ष चन्दा ढुङ्गेललगायतले मन्तव्य राखेका थिए ।

 

सहभागीहरुकोतर्फबाट बालकुमारी रसाइलीले तालिमको अनुभव प्रस्तुत गरेको कार्यक्रममा स्वागत समूहकी उपाध्यक्ष डम्बरकुमारी सत्यालले गरेकी थिइन् । उक्त कार्यक्रमको सञ्चालन समूहकी सचिव पूर्णिमा सिटौलाले गरेकी थिइन् ।