अर्जुनधारा । पातञ्जल योग समिति अर्जुनधाराले ‘सर्वाङ्गण विकासको लागि योग’ भन्ने नारासहित आयोजना गरेको एक महिने योग प्रशिक्षण सम्पन्न गरेको छ । समितिले अर्जुनधारा जलेश्वरधामको सभाहलमा प्रशिक्षण गरेको हो ।
धामको सभाहलमा एक महिनासम्म सञ्चालन भएको प्रशिक्षणमा ७० जनाको नियमित सहभागिता रहेको आयोजक समितिका अध्यक्ष सुरेन शाहले जानकारी दिए । यसैबीच, शाहको अध्यक्षता र अर्जुनधारा ८ का वडाध्यक्ष कुमारप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा तालिम समापन कार्यक्रममा सहभागीहरुलाई प्रमाण पत्र वितरण गरियो ।
सोही कार्यक्रममा सहभागीमध्ये ज्येष्ठ किशोरकुमार तामाङ, खगेन्द्र बराल, पूण्यदेवी तिम्सिना र लावण्य भण्डारीलाई सम्मान गरिएको थियो । सहभागीद्वय कुमारी खरेल शिवाकोटी र खगेन्द्र शाहले तालिमको अनुभव प्रस्तुत गरेका थिए ।
कार्यक्रममा शनिश्चरे आयुर्वेद औषधालयका प्रमुख वरिष्ठ कविराज अनिल ठाकुर, प्रशिक्षकद्वय पातञ्जल योग समिति नेपालका केन्द्रीय उपाध्यक्ष केशव ताम्राकार र झापाका अध्यक्ष श्याम ल्वागुन, अर्जुनधारा जलेश्वर धामका मूलअर्चक अग्निप्रसाद सिग्देललगायतले मन्तव्य राखेका थिए ।
तालिमअन्तर्गत सहभागीहरुले सुनसरीको बराहक्षेत्रमा हालै सम्पन्न भएको १२ वर्षे पिण्डेश्वर महाकुम्भ मेलामा पनि योग प्रशिक्षण गरेको बताइएको छ ।
आयोजक समितिको उक्त कार्यक्रमलाई सफल बनाउन अर्जुनधारा ७ वडा कार्यालयले नगद ३० हजार र अर्जुनधारा ८ वडा कार्यालयले ४० सेट पोशाक वितरण गरेको समितिकी उपाध्यक्ष चन्दा ढुङ्गेलले जानकारी दिइन् ।