खुदुनाबारी । झापाको अर्जुनधारा नगर क्षेत्रमा परम्परागतरुपमा मौरी पाल्दै आएका कृषकको अनुभवलाई समेटेर व्यावसायिकरुपमा मौरीपालन गर्न सकिने व्यापक सम्भावना देखिएको छ ।
नगर कृषिमा आधारित भएको र तोरी खेतीलगायत प्राकृतिक चरनका खेती गर्ने कृषकहरु भएकाले पनि मौरीपालनको सम्भावना देखिएको अर्जुनधारा नगरपालिकाको कृषि शाखाले जनाएको छ ।
कृषि शाखाका प्राविधिक कृष्णराज जोशीका अनुसार यस क्षेत्रमा मौरीलाई प्राकृतिक चरन स्रोतका रुपमा चाहिने तोरी, सस्र्यू, मकै, फापर, सूर्यमुखी, लिची, केरालगायतको खेती गरिँदै आएको छ ।
अर्जुनधारा नगर क्षेत्रमा २८ हेक्टर क्षेत्रफलमा तोरी खेती गरिँदै आएको तथ्यांक छ । तथ्यांकअनुसार यस क्षेत्रमा २८ हजार मौरीका घार राख्न सकिने कृषि शाखाले जनाएको छ ।
तराई क्षेत्रमा मेलीसेरा जातको मौरी फस्टाउने भएकाले अर्जुनधारामा यसको सम्भावना रहेको प्राविधिक जोशीले बताए । उनका अनुसार यस जातको व्यावसायिक मौरीपालन गर्दा वर्षमा एकै घारबाट ४० देखि ५० केजी मह उत्पादन गर्न सकिन्छ ।
यसैगरी, १ हजार २ सय मिटरको उचाइसम्म सेरेना जातको मौरी पनि पाल्न सकिन्छ । तर, यसको उत्पादन भने वार्षिक १५ देखि २० केजीमात्र हुने बताइएको छ । अर्जुनधारामा मौरीपालनको सम्भावना भए पनि धेरैभन्दा धेरै बाली उत्पादनका लागि विषादि प्रयोग गर्ने कृषक पनि भएकाले उत्तिकै चुनौती थपिने कृषि प्राविधिक जोशीले बताए ।
यसैबीच, अर्जुनधाराका मौरीपालक कृषकका लागि व्यवसायसँग जोड्न सातदिने आधारभूत मौरीपालन तालिम दिइएको छ । २ नम्बर वडा कार्यालयको हलमा मौरी पाल्दै आएका नगर क्षेत्रका ३० जना कृषकलाई तालिम दिइएको होे ।
मौरीपालनका लागि सम्भावना बोकेको अर्जुनधाराको भूगोल, बालीनाली सुहाउँदो भएकाले कृषकहरुलाई व्यवसायसँग जोड्न तालिम आयोजना गरिएको नगरपालिकाकी आर्थिक समितिकी संयोजक गौरीमाया चिमरियाले बताइन् ।
प्रावधिक जोशीका अनुसार मौरीको जीवनचक्र, शारीरिक संरचना, कार्य विभाजन, गोला व्यवस्थापन, संयोजन, हुल निर्यास व्यवस्थापन, गृह त्याग व्यवस्थापनबारे तालिममा सहभागीलाई जानकारी दिइएको छ ।
यसैगरी, रोग, शत्रु जीवबाट बच्ने उपाय, चरन व्यवस्थापन, आहारा व्यवस्थापन र घारको संरचनाबारे सहभागीलाई जानकारी दिइएको छ । उनीहरुलाई धुलाबारीमा स्थलगत अवलोकन भ्रमण पनि गराइएको छ ।
अर्जुनधारामा मौरीको मह नै बेच्नेगरी कृषकहरु व्यावसायिक बनेका छैनन् । व्यक्तिगत प्रयोजन र शौखका लागि मौरीपालन गरिँदै आए पनि मौरीपालकहरु संगठित भएका छैनन् । यस क्षेत्रमा एक सयभन्दा बढीले मौरी पाल्दै आएको बताइएको छ ।
मौरीपालनमा महिलाभन्दा बढी पुरुषको संख्या बढी छ । मौरीपालनसम्बन्धी ज्ञान र सीपकै अभावले महिलाहरुको सहभागिता कम भएको अनुमान गरिएको छ ।
तालिममा सतासी महिला सहकारी संस्थाकी प्रशिक्षक देवी दाहालले सहभागीलाई सहजीकरण गरिरहेकी छन् । नगरपालिकाले सहभागीलाई ५ वटा फ्रेमसहितको एक मौरीको घारसहित आवश्यक सुरक्षा सामग्री प्रदान गर्ने आर्थिक समितिकी संयोजक चिमरियाले बताइन् ।