बिर्तामोड । झापामै सम्भवतः स्थानीय तहमा बिर्तामोड नगरको पहिचान, शक्ति र सामर्थ्यका विषयमा ‘बिर्तामोड डेपलपमेन्ट समिट’ कार्यक्रम गरिएको छ ।
नगरको शिक्षा, स्वास्थ्य, ब्यवसाय, सहकारी र स्थानीय तहका प्रमुख तथा प्रतिनिधिको उपस्थितिमा नगरको पहिचान, शक्ति र सामर्थ्यका बारेमा प्यानल डिस्कशन गरिएको हो । यस्तै, सरोकारवालासँग भएका कार्य, समस्या, चुनौती र समाधानका बिषयमा कार्यक्रममा छलफल भएको थियो ।
प्रमुख बक्ता बिर्तामोड नगरकी प्रमुख पवित्रा महतरा प्रसाई, मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङ रहेको कार्यक्रमको संयोजन सेन्टरका सञ्चालक तीर्थ सिग्देलले गरेका थिए ।
बिर्तामोड नगरपालिका शिक्षा शाखा प्रमुख उपसचिव तिलचन भण्डारीले शिक्षा, बिर्तामोड नगरपालिका स्वास्थ्य शाखा प्रमुख राजिव बिष्टले स्वास्थ्य, बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले ब्यापार तथा ब्यवसाय, झापा जिल्ला सहकारी संघका सचिव भवानीप्रसाद दंगालले सहकारी, बिर्तामोड नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले समग्र नगरको अवस्था, चुनौती र समाधानका विषयमा प्यानल डिस्कशन गरेका थिए ।
उनीहरुले कार्यक्रममा सहभागीहरुको जिज्ञासाको जवाफसमेत दिएका थिए । सहजकर्ता विजय तिम्सिनाले प्यानल डिस्कशनमा सम्बन्धित क्षेत्रका विज्ञहरुलाई सम्बन्धित प्रश्न सोधेका थिए भने उनीहरुले तिम्सिनाले सोधेको सवाल जवाफको उत्तर दिँदै सहभागीका जिज्ञासासमेत समाधान गरेका थिए ।
मिडिया रिसर्च सेन्टर बिर्तामोडको आयोजना तथा बिर्तामोड नगरपालिका र मेची आँखा अस्पतालको सहयोगमा बुधबार ‘बिर्तामोड विकास सम्मेलन गरिएको हो ।