बिर्तामोड । झापाको बिर्तामोडमा रहेको बिएन्डसी टिचिङ हस्पिटलले विपन्न नागरिक उपचार कोषअन्तर्गत निःशुल्क हेमोडाइलाइसिस कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

 

हस्पिटलमा पत्रकार सम्मेलन गरेर निःशुल्क हेमोडाइलाइसिस कार्यक्रमबारे जानकारी दिइएको हो । कार्यक्रमअन्तर्गत नेपाल सरकारले तोकेबमोजिम मिर्गौलाका बिरामीहरुलाई निःशुल्क रुपमा हेमोडाइलाइसिस सेवा प्रदान गरिने अस्पतालका सूचना अधिकारी प्रमसि गिरीले जानकारी दिए ।

 

कार्यक्रममा कुनै पनि मिर्गौलाका बिरामीहरुले निःशुल्करुपमा हेमोडाइलाइसिस सेवा लिन पाउने गिरीले बताए । निःशुल्क सेवा लिनको लागि बिरामी अस्पतालको ओपिडी वा इमरजेन्सीमा आएपछि चिकित्सकले आवश्यक स्वास्थ्य परीक्षण गरी मिर्गौलामा समस्या देखिएको र मृगौलाको हेमोडाइलाइसिस गर्नुपर्ने देखिएमा बिरामीको स्थायी ठेगाना भएको स्थानीय तहलाई सम्बोधन गरी विपन्न नागरिक औषधि कोषअन्तर्गत निःशुल्क हेमोडाइलाइसिस सेवाको लागि सिफरिसका लागि अस्पतालले सिफरिसपत्र उपलब्ध गराउनेछ ।

 

त्यस्तै, बिरामीको परिवारको सदस्यले उक्त सिफारिसपत्र सम्बन्धित स्थानीय तहमा पेस गरेपछि पालिकाको प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य शाखाको प्रमुख रहेको समितिले निर्णय गरेर निर्णयको प्रतिलिपिसहित अस्पताललाई सिफारिसपत्र पठाउनु पर्नेछ ।

 

स्थानीय तहको सिफारिसपत्रको आधारमा अस्पतालले बिरामीसँग सम्बन्धित अन्य आवश्यक कागजातहरु संलग्न गरेर बिएन्डसी अस्पतालको सामाजिक सुरक्षा इकाइमा पेस गरेपछि निःशुल्क हेमोडाइलाइसिस सेवा प्राप्त गर्न सकिने गिरीको भनाइ छ ।

 

कार्यक्रमअन्तर्गत बिरामीको उपचार प्रक्रियामा अस्पतालमा कार्यरत डाक्टर गोपाल मिश्र, डाक्टर मुक्ति देवकोटा, डाक्टर वासुदेव बाँस्कोटा, डाक्टर राजु श्रेष्ठ, डाक्टर अमितकुमार शाह लगायतको चिकित्सक एवम अन्य स्वास्थ्यकर्मीहरुको समूह संलग्न रहने अस्पतालले जनाएको छ ।

 

हाल बिएन्डसीमा पाँचवटा हेमाडाइलाइसिस मेसिन रहेको र चाँडै थप गरेर २० वटा पुर्याइने गिरीले बताए । यसैबीच, हेमोडाइलाइसिसका लागि अस्पतालमा फिस्टुला बनाउने तथा सघन उपचारको पनि व्यवस्था रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।