ताप्लेजुङ । मनसुनी वर्षा सुरु भएको जेठ २७ गतेपछि हिमाली जिल्ला ताप्लेजुङमा ८१ घरका ३८४ जना विस्थापित भएका छन् । यो अवधिमा पाँच जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार ८४ वटा पशुचौपाय मरेका छन् भने चारवटा सवारी साधनमा क्षति पुगेको छ ।

 

पहिरोमा परी फक्ताङलुङ गाउँपालिका २ खेजेनिमका जसमाया लिम्बू उनका दुई छोरी गंगा र जमुना गरी तीन महिला, रामबहादुर साम्रा र पाँचथर फिदिम नगरपालिका १४ घर भएका सविन राई गरी दुई पुरुषको मृत्यु भएको हो ।

 

राईको विद्युत उत्पादन कम्पनीमा काम गर्नेक्रममा ताप्लेजुङकै याम्फुदिनमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक रवी रावलले जानकारी दिए । पहिरोमा परी घाइते भएका खेजेनिमका युगेन साम्रा र उनका छोरी उपचारपछि घर फर्किएका छन् ।

 

पहिरोबाट सिरिजंगा, सिदिङ्वा, मिक्वाखोला र फक्ताङलुङ गाउँपालिकाका मानिसहरु विस्थापित भएका छन् । पहिरोले ८ वटा घरमा पूर्ण क्षति पुर्‍याएको रावल बताउँछन् । यी घरमा बस्ने १७ महिला र १८ पुरुष गरी ३५ जना पूर्ण विस्थापित भएको प्रहरी तथ्यांकमा उल्लेख छ ।

 

१८ वटा घर पहिरोको पूर्ण जोखिममा छन् । यी घरका ५२ महिला र ४२ पुरुष गरी ९४ जना विस्थापित भएको प्रहरीले जनाएको छ । ५५ वटा घर पहिरोको जोखिममा छन् ।

 

पशुचौपायमध्ये सबैभन्दा बढी क्षति बाख्रा र खसीको भएको छ । खेजेनिमको एउटा बाख्रा फर्म नै रित्तिएको वडाध्यक्ष भुपेन्द्र चौलागाईले बताए । पहिरोले नौवटा गोठमा क्षति पुर्याएको छ ।

 

बाढी र पहिरोका कारण नौ दिनमा दुई काठको पुल, एक झोलुङगे पुल, एक निर्माणाधीन झेलुङगे पुल र मान्छे हिँड्न सिमेण्टेड गरेर बनाएको एक गरी पाँच वटा पुलमा क्षति पुगेको छ । सदरमुकाम फुङलिङबाट पूर्व, पश्चिम र उत्तरतर्फका छवटा सडक अवरुद्ध भएका छन् ।

 

तीमध्ये तीनवटा खुलाइसकिएको र तीनवटा खुलाउने प्रयास भइरहेको स्थानीय तहले जनाएका छन् । एउटा क्रसर, एउटा माइक्रो हाइड्रो, सिरिजंगा गाउँपालिका ५ मामांखेमा रहेको एउटा लिम्बू संग्रहालयमा क्षति पुगेको छ । गाउँमा ठूलो संख्यामा अलैचीं बालीमा क्षति पुगेको स्थानीयले बताएका छन् ।