शनिश्चरे । लामो समयको प्रतिक्षापछि झापाको शनिश्चरे-बिर्तामोड सडकमा कालोपत्रे गर्ने काम सुरु भएको छ । सडक निर्माण नहुँदा लामो समयदेखि त्यस क्षेत्रबाट यात्रा गर्ने यात्रुले सास्ती पाउँदै आएका थिए ।

 

आइतबारदेखि सबैभन्दा जीर्ण रहेको खण्ड दासपुलदेखि कप्तानबारीसम्मको सडक कालोपत्रे गर्न सुरु भएको हो । ठेकेदार कम्पनीले मंगलबारसम्ममा डेढ किलोमिटरको त्यस खण्ड पूरा गर्ने आश्वासन दिएको नगर प्रमुख बलदेबसिंह गोम्देनले जानकारी दिए ।

 

पूर्व संघीय सांसद पवित्रा निरौलाको पालामै सडक बनाउन तय भएको तर बजेट विनियोजन नभएकाले निर्माण नभएको नगर प्रमुख गोम्देनले बताए । तर, सडक निर्माण नहुँदा मेयरले काम गरेन भनेर जनगुनासो आएको पनि उनले स्मरण गरे ।

 

रणनीतिक सडक निर्माणका लागि वर्तमान संघीय सभामुख देवराज घिमिरेको पहलमा बजेट निकासा भएपछि कालोपत्रे कार्य सुरु भएको उनको भनाइ छ । लामो समय सडक नबनेपछि स्थानीयले ढाट लगाएको र आफूले बनाएरै छाड्ने प्रतिबद्धतापछि स्थानीयले साथ दिएको उनले सुनाए ।

 

नगरपालिकाको क्षेत्राधिकारभित्र नपर्ने भए पनि स्थानीयको असन्तुष्टि सम्बोधन भएकोमा उनले आफूलाई ठुलो सफलता मिलेको टिप्पणी गरे । सडक निर्माण गर्नका लागि ‘प्रविण मैनाचुली शान्ति’ जेभीले ठेक्का पाएको थियो ।

 

समयमा रकम निकासा नहुँदा निर्माण कार्य समयमै गर्न नसकिएको ठेकेदार कम्पनीले जनाएको छ । तर, सभामुख देवराज घिमिरेको पहलमा आंशिक रकम निकासा भएपछि पहिलो चरणमा १.५ किलोमिटर कालोपत्रे गर्ने कार्य सम्पन्न गर्न लागिएको उनले बताए ।

 

गत जेठ ९ गते निर्माण सम्पन्न गरेर हस्तान्तरण हुनुपर्ने गरी २०७९ जेठमा ठेक्का लागेको सो सडकको निर्माण कम्पनीले मागेको रकम राज्यले समयमा भुक्तानी गरेको थिएन ।

 

१५ करोड ६० लाख रुपैयाँमा ठेक्का लागेको सो सडक बिर्तामोडको टाटा सोरुमदेखि कप्तानबारीहुँदै लक्ष्मीपुरबाट कालिस्थानसम्म ६.२ किलोमिटरको हुनेछ । बिर्तामोडदेखि दासपुलसम्म दुई लेन, दासपुलदेखि कप्तानबारीसम्म ७ मिटरको सडक निर्माण हुने सम्झौतामा उल्लेख छ ।

 

यसअघि सडकमा सवारी साधन चलाउन नसक्ने गरी खाल्डाखुल्डी भएका कारण धेरै पटक सवारीसाधन दुर्घटनामा परेका थिए । स्थानीयले सडक निर्माण गर्न दबाब दिने उद्देश्यले पटक-पटक सडक अवरुद्ध गर्दै आएका थिए । सडक अवरुद्ध भएपछि सवारीसाधनले लामो समयदेखि वैकल्पिक सडक प्रयोग गरिरहेका छन् ।

 

यस सडक खण्ड निर्माणपछि अर्जुनधाराको शनिश्चरेदेखि बिर्तामोडसम्म सिधा सम्पर्क हुनेछ । यसअघि वैकल्पिक मार्ग प्रयोग गरेर बिर्तामोड आउजाउ गर्न सवारीसधान बाध्य थिए ।

 

यसैगरी, यस सडकबाट इलामको दक्षिणी तथा पश्चिमी पालिकाहरुसँगै पाँचथरको रवि बजारसम्म साना तथा ठुला सवारीसाधन सयौँको संख्यामा दैनिक आवतजावत गर्ने गरेका छन् ।