झापा । महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई मेचीनगर नगरपालिकाले एक लाख नगदसहित सम्मान गरेको छ ।
नगर कार्यपालिकाको दोस्रो नगरसभाको पाँचौँ अधिवेशन समापनका अवसरमा स्वयंसेविका तेजमणि चाैधरी मेचेलाई सम्मान गरिएको हो । मेचेलाई नगर प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोख्रेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले सम्मान गरेका हुन् ।
आफ्नो उर्वर समय युवा अवस्थादेखि ६० वर्ष पुग्दासम्म निरन्तर महिला स्वयंसेविकाको रूपमा रहेर समुदायस्तरमा स्वास्थ्य सेवा प्रवाह गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै मेचेलाई नगदसहित दोसल्ला ओढाएर सम्मानपत्रले सम्मान गरिएको छ ।
विगत लामो समयदेखि निरन्तर समुदायस्तरमा स्वास्थ्य सेवा प्रवाह गर्दै मेचीनगर ८ निवासी ६० वर्षीय मेचेले अनिवार्य अवकाश लिएका हुन् । पालिकाले यसअघि १२ जना स्वयंसेविकालाई सम्मान गरेको थियो ।
मेचीनगर नगरपालिका झापाको सबैभन्दा बढी बजेट भएको पालिका हो । मेचीनगरले यो वर्ष दुई अर्ब पाँच करोड २९ लाखको बजेट नगरसभामा पेस गरेको छ ।