शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिका ८ नम्बर वडा कार्यालयले ज्येष्ठ नागरिक लक्षित एकदिने आँखा शिविर सम्पन्न गरेको छ । आँखा शिविरमा १८४ जना बृद्धबृद्धाले आँखा जाँच गराएका थिए । जसमा २८ जनालाई निःशूल्करुपमा चश्मा वितरण गरिएको थियो ।

 

बिर्तामोडको दृष्टि आई हस्पिटलको प्राविधिक सहयोगमा अर्जुनधारा ८ नम्बर वडा कार्यालयले सञ्चालन गरेको शिविरबाट २० जनामा मोतियाविन्दू भेटिएको स्वास्थ्यकर्मी मुकुन्द बस्नेतले जानकारी दिए ।

 

मोतियाविन्दू भेटिएका ज्येष्ठ नागरिकको अप्रेसन गर्न सुझाव दिइएको छ । स्वास्थ्य बिमा भएको खण्डमा निःशूल्क अप्रेसन हुने बताइएको छ ।

 

ज्येष्ठ नागरिकलाई बृद्धभत्ताको व्यवस्था भए पनि उनीहरुको स्वास्थ्य परीक्षणमा पनि ध्यान दिनुपर्छ भन्ने उद्देश्य राखेर शिविर सञ्चालन गरिएको अर्जुनधारा ८ का वडाध्यक्ष कुमारप्रसाद उप्रेतीले बताए ।

 

यसैगरी, अर्जुनधारा नगरपालिकाको स्वास्थ्य शाखाले नियमित स्वास्थ्य परीक्षणअन्तर्गत सोही कार्यक्रममा सुगर र प्रेसरको जाँच गरेको थियो । आँखा परीक्षणसँगै रगत जाँच र इसिजी गरिएको स्वास्थ्यकर्मी बस्नेतले जानकारी दिए ।

 

नगरको ११ वटै वडामा गठिन कार्डिएट डायबेटिक क्लबमा संगठित र नियमित औषधि सेवन गरिरहेका सेवाग्राहीलाई संगठित गर्ने काम भइरहेको बताइएको छ ।