झापाकाे बिरिङ खाेलामा आएकाे बाढी । फाइल तस्वीर

झापा । विपद्जन्य घटनाबाट झापामा १५ जनाको मृत्यु भएको छ भने १३ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ ।

 

चालु आर्थिक वर्षको साउनदेखि हालसम्ममा बाढी, आगलागी, हावाहुरी र चट्याङजस्ता विपद्जन्य घटनाका कारण १५ जनाको मृत्यु र १३ करोड ७२ लाख ८४ हजार नौ सय रुपैयाँको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णबहादुर चन्दले बताए ।

 

हावाहुरीबाट दुई करोड ७६ लाख ४० हजार, बाढीबाट एक करोड ५० लाख, आगलागीबाट नौ करोड ८३ लाख ६ सय र चट्याङले आठ लाख ४४ हजार तीन सय रुपैयाँबराबरको भौतिक क्षति भएको छ ।

 

त्यस अवधिमा बाढीबाट नौ जनाको मृत्यु र एक जना बेपत्ता, आगलागीबाट तीन जनाको मृत्यु, २३ जना घाइते र चट्याङ लागेर तीन जनाको मृत्यु, तीन जना घाइते भएका प्रवक्ता चन्दले जानकारी दिए ।