शनिश्चरे । झापाको अर्जुनधारास्थित खुदुनाबारी-शनिश्चरे भित्री सडकखण्ड जोड्ने बिरिङ खोलाको पुल चर्किएर क्षति पुगेपछि आवागमन बन्द भएको छ ।
हिजोदेखि परेको अबिरल वर्षाका कारण झापा अर्जुनधारा नगरपालिका वडा नम्बर ७ गढीस्थित खुदुनाबारी-शनिश्चरे भित्री सडकखण्ड जोड्ने बिरिङ खोलाको पुल चर्किएर क्षति पुगेको हो भने शनिश्चरेदेखि खुदुनाबारीको सिधा सम्पर्क टुटेको छ ।
उक्त पुलमा सवारी आवागमन बन्द गरिएको र डाइभर्सन गरी बैकल्पिक बाटोबाट सवारीसाधन आवागमन भइरहेको प्रहरीले जनाएको छ ।
पुलमा क्षति पुगेपछि अहिले भित्री गढीहुँदै नयाँ बिरिङ पुल र अर्जुनधारा ४ को मिलडाँडाहुँदै खुदुनाबारी, इलामको दानाबारी, महमाई, लारुम्बा, चिसापानीतर्फ सवारीसाधन गुडिरहेका छन् ।