शनिश्चरे । झापा अर्जुनधारा नगरपालिकाकोे आयोजनामा आज सार्वजनिक सुनुवाई भएको छ । सार्वजनिक सुनुवाईमा नगर क्षेत्रमा भए गरेका विकास, योजना, सेवा सुविधाका विषयमा सहभागीले जिज्ञासा राखेका थिए ।
सहभागीले शनिश्चरे-खुदुनाबारी जोड्ने विरिङ पुल धस्सिँदा स्थानीयले भोग्नु परेको पीडा सुनाउँदै पूलमा क्षति पुग्दा आवातजावतमा समस्या भएको गुनासो गरे । अर्जुनधारा २ का मुकुन्द भण्डारीले पुलको गुनासासँगै वडा तथा नगरका जनप्रतिनिधि र कर्मचारीले सेवा प्रवाहमा ध्यान नदिएको उल्लेख गरे ।
त्यस्तै, अर्जुनधारा १० का यज्ञबहादुर कडरियाले बुट्टाबारी-सालबारी-चिसापानी-कालिस्थान सडक खण्डको स्तरोन्नति गर्न माग गरे । अर्जुनधारा-११ का दीपक खड्काले लेखनदासको विषयमा जिज्ञासा राखेका थिए ।
सहभागीले केही विकास निर्माणका विषयमा जिज्ञासा राखे पनि नगरपालिकाको विभिन्न शाखा तथा विषयगत समितिको काम कारबाहीका विषयमा खुलेर प्रश्न गर्न सकेनन् ।
सहभागीको जिज्ञासाको जवाफ दिँदै अर्जुनधारा नगरप्रमुख बलदेवसिंह गोम्देन तामाङले आफूलाई सुझाव, प्रश्न गर्ने मानिस आफ्नो शुभचिन्तक भएको बताए । वास्तविकता नबुझ्दा र गलत कुरा बाहिर आउँदा नगरबासीमा अन्योल हुने गरेको उनको भनाइ थियो ।
विकास निर्माणमा आफूहरु प्रतिबद्ध भएको बताउँदै उनले नगरबासीप्रति आफूहरु जवाफदेही भएको बताए । खुदुनाबारी-अर्जुनधारा सडक खण्ड चाँडै निर्माण हुने नगर प्रमुख गोम्देनले आश्वसन दिएका छन् ।
कार्यक्रममा उपप्रमुख खड्गमाया पराजुलीले आफू सदैव नगरबासीको साथ रहेको बताइन् । उनले चुनावमा गरेका बाचालाई पूरा गर्न आफूहरु प्रतिबद्ध रहेको बताइन् । यस्तै, ३ नम्बर वडाध्यक्ष सीताराम भट्टराईले आफ्ना वडाका विषयमा उठेका जिज्ञासाका जवाफ दिएका थिए ।
प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमालले नगरबाट प्रवाह गरिने सेवा चुस्तदुरुस्त बनाउने प्रतिबद्धता जनाए । केही ठाउँमा कमजोरी भए त्यसलाई सुधार गरिने आश्वास दिए ।
सार्वजनिक सुनवाईमा पत्रकार पुष्प बरालले आम नागरिकको उपस्थिति न्यून रहेकाले सुधार गर्न सुझाव दिए । अर्का पत्रकार रमेश समदर्शी राईले संयोजनकर्ताले तयार पारेको प्रतिवेदनको शृब्य-दृष्यसहितको रिपोर्ट भए अझ राम्रो हुने बताए ।
कानून व्यवसायी बिमल दाहालले नगरबासीकाे लिखित प्रतिवेदन प्रस्तुत र सहजीकरण गरेको कार्यक्रमको सञ्चालन अमर देवानले गरेका थिए । भिन्न मिडिया एण्ड रिसर्च प्रालिको सहजीकरणमा सार्वजनिक सुनुवाई भएको हो ।