झापा । झापाको गौरादहमा दुईवटा मोटरसाइकल एकापसमा जुध्दा एकजनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

 

मंगलबार साँझ ७ः१० बजे गौरादह १ सितापुरी चोकस्थित भित्री सडकखण्डमा रङ्गपुरबाट सितापुरीतर्फ जाँदै गरेको बा ७० प १८१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मे ६ प ५८१ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाई दुर्घटना भएको थियो ।

 

दुर्घटनामा बा ७० प १८१ नम्बरको मोटरसाइकल चालक कमल गाउँपालिका ५ बस्ने २४ वर्षीय सन्जोक भण्डारी र मे ६ प ५८१ नम्बरको मोटरसाइकल चालक गौरादह १ बस्ने अन्दाजी वर्ष २७-२८ का दुर्गा ताजपुरीया घाइते भएका थिए ।

 

दुबै जनालाई उपचारका लागि निम्स अस्पताल दमक लगिएकोमा उपचारको क्रममा भण्डारीलाई साँझ ७ः३० बजे चिकित्सकले मृत घोषणा गरेका थिए । अर्का मोटरसाइकल चालक ताजपुरीयालाई थप उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड रेफर गरिएको र उनको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।