झापा । क्षणभरमै चिनजान गरेका एक व्यक्तिलाई घरसम्म पुर्याइदिन सहयोग लिफ्ट दिँदा झापाको हल्दिवारीमा चालकलाई बेहोस बनाई स्कुटर लुटेर लगेका छन् ।

 

हिजो जिल्ला प्रशासन कार्यालय भद्रपुरमा भेट भएका विनोद राजवंशी बताउने व्यक्तिले मेचीनगर ५ का २२ वर्षीय पुजन श्रेष्ठको प्रदेश १–०१–०१५ प ३४४८ नम्बरको स्कुटर हल्दिवारीको भेलागुडी जंगलमा लुटेर लगेका हुन् ।

 

बुबाको नागरिकताको प्रतिलिपि बनाउन जिल्ला प्रशासन कार्यालय गएका श्रेष्ठसँग ती व्यक्तिको त्यही चिनजान भएको थियो । आफू पनि नागरिकताको प्रतिलिपि बनाउन आएको उनले श्रेष्ठलाई बताएका थिए । अपरान्ह ४ बजेतिर आफ्नो घर नजिकै रहेको र घर जाने काम पर्यो भनेर ती व्यक्तिले श्रेष्ठसँग लिफ्ट मागेका थिए ।

 

श्रेष्ठसँग चावी मागेर आफैँ स्कुटर कुदाएका उनले भेलागुडी जंगलमा आफ्ना दुईजना साथी बोलाएर लछारपछार गर्दै कुटपिट गर्नुका साथै अनुहारमा स्प्रे छर्केर बेहोस बनाएका थिए । त्यसपछि उनीहरुले स्कुटर लुटेको श्रेष्ठकी भाउजु अन्जना भण्डारीले बताइन् ।

 

घाइते र बेहोस भएका श्रेष्ठ राति पौने २ बजेतिर मात्र घर पुगेको उनले जानकारी दिइन् । आफूहरुले हुलियासहित स्कुटर लुट्नेहरुलाई खोजी गरी कार्वाही गर्न प्रहरीलाई उजुरी दिएको भण्डारीले जानकारी दिएकी छन् ।