पाँचथर । पूर्वी नेपालका हिमाली र पहाडी जिल्ला हुँदै तराई जोड्ने कोसी करिडोरको काम धमाधम भइरहेको छ  ।

पाँचथर, तेह्रथुम, धनकुटालगायत पहाडी र तराईको सुनसरी हुँदै प्रदेश राजधानीको केन्द्र जोड्ने यो मार्गमा ४५ प्रतिशत काम भएको छ  । यो पहाडबाट तराई जोड्ने छोटो राजमार्ग हो । निर्माणको प्रगति सन्तोषजनक रहेको सडक आयोजना प्रमुख अभिमान मुल्मीले बताए ।

पूर्वमा पाँचथरको गणेशचोकदेखि सुनसरीको चतरासम्म जोड्ने सडक १४८ किलोमिटर लामो हुनेछ । अहिलेसम्म १३० किलोमिटर ट्रयाक खुलिसकेको छ । अब करिब १८ किलोमिटर मात्रै बाँकी रहेको मुल्मीले बताए । माझीटार, चतरा मूलघाट, नावालगायत खण्डमा भने ट्रया खुल्न बाँकी छ ।

तमोर जलाशय, कोसी उच्चबाँध निर्माण भए पनि सडकलाई असर पर्ने छैन । चतराखण्डमा ५, नावामा ५ र माझीटारमा ३ किलोमिटर ट्रया खोल्न बाँकी छ । काममा कुनै अवरोध नभए चाँडै ट्रयाक खुल्ने मुल्मीले बताए । ‘कामको प्रगति अत्यन्तै राम्रो छ’, उनले भने, ‘अहिलेसम्मको काम हेर्दा निर्धा्रित समयमै सकिनेछ ।’

ट्याक खुलेको ठाउँमा पर्खाल लगाउने, नाली बनाउने काम सुरु भएको छ । तमोरको किनारै किनार गएर कोसी नदीमा पुग्ने र कोसीबाट किनारै किनार अघि बढ्ने भएकाले आयोजनाको नाम कोसी करिडोर राखिएको हो ।

करिडर निर्माण सम्पन्न भएसँगै प्रदेश राजधानी विराटनगर, तराईका सुविधा सम्पन्न अस्पताल र केन्द्रीय सहर काठमाडौं पुग्न सहज हुनेछ । डबल लेनको सडक बन्ने भएकाले यातायात सञ्चालनमा कठिनाइ नहुने प्राविधिक बताउँछन् । पहिलो चरणमा ग्राभेल सडक बनाउने र त्यसपछि कालोपत्रे गर्ने योजना रहेको आयोजना कार्यालयले जनाएको छ ।

अहिले ७ वटा प्याकेजमा काम भइरहेको छ । ६ अर्ब १५ करोड १४ लाख रुपैयाँ बजेटमा काम भइरहेको आयोजना पाँचथरबाट सुरु भए पनि यसको प्रत्यक्ष लाभ ताप्लेजुङका बासिन्दाले पनि पाउनेछन् । गणेशचोकदेखि ताप्लेजुङ सदरमुकाम फुङलिङको दूरी करिब ५० किलोमिटर छ । अझ ताप्लेजुङको पूर्वका तीन गाउँपालिकाका बासिन्दालाई सडकले सुविधा पुग्नेछ ।

मध्यपहाडी लोकमार्ग आयोजनाअन्तर्गत ‘कोसी करिडोर सडक विस्तार योजना-२’ सञ्चालन भएको हो । यसको सम्झौता अवधि ३० महिनाको छ । पाँच वटा प्योकजको गत वर्षको फागुन र दुई प्याकेजको वैशाखमा ठेक्का सम्झौता भएको थियो ।

मध्यपहाडी लोकमार्गलाई छोट्याउने सडकका रूपमा यसलाई विकास गरिएको हो । ताप्लेजुङको ओलाङचुङगोलाको टिप्ताला भञ्ज्याङ नाकादेखि मूलघाटसम्म जोड्ने सडकलाई कोसी करिडोरअन्तर्गत विकास गर्ने प्रयासस्वरूप काम भइरहेको छ ।

चीन र नेपालको सिमाना टिप्ताला भञ्ज्याङदेखि ओलाङचुङगोलासम्म ट्रयाक ओपनको काम भइरहेको छ । सदरमुकाम फुङलिङबाट ओलाङचुङगोलातर्फ विस्तारको काम पनि भइरहेको छ ।