झापा । सरकारी सवारी चालक एसोसिएसन नेपालले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

 

तल्लो दर्जाका श्रेणीविहीन कर्मचरीका लागि सरकारले २०५७/०५८ सालबाट विभेदकारी निर्णय गरी लोकसेवा आयोगद्वारा स्थायी नियुक्ति नगर्ने निर्णय गरेको र हालसम्म उनीहरुको विषयमा ध्यान नदिएको भन्दै चालक एसोसिएनले मुख्यमन्त्रीको ध्यानाकर्षण गराएको हो ।

 

प्रदेश सरकारले आफूहरुको विषयमा विशेष ध्यान दिएर योजना ल्याउन माग गर्दै मुख्यमन्त्री कार्कीको ध्यानाकर्षण गराइएको सरकारी सवारी चालक एसोसिएसन नेपालका अध्यक्ष झट्टबहादुर खड्काले बताए

 

‘मुलुकमा गणतन्त्र आएर नयाँ संविधन बने पनि तल्लो तहको कर्मचारीको विषयमा सरकारले बेवास्ता गरेको छ’, उनले भने, ‘सरकारले यस्तो विभेदको अत्य गर्नुपर्छ ।’

 

स्थानीय सरकारी सेवा गठन तथा सञ्चालन ऐन २०८० को परिच्छेद ३ को दफा १६ को उपदफा ‘ग’ को ३ मा समेत नयाँ संविधान आएपछि पनि नसमेटिएको संस्थाको सल्लाहकार संयोजक रोहित कोइराला बताउँछन् ।

 

संस्थाले मुख्यमन्त्रीलाई बुझाएको ध्यानाकर्षण-पत्र संस्थाको महासचिव खेमराज नेपालले पढेर सुनाएका थिए भने सो ध्यानाकर्षण पत्र बुझाउन झापाका सबै सरकारी कार्यालयका एक-एक जना चालकको उपस्थिति रहेको सरकारी सवारी चालक एसोसिएसनका कोषाध्यक्ष लिला वस्थाकोटीले जानकारी दिए।

 

सवारी चालकसहित श्रेणिविहीन कर्मचारीलाई जिम्मेवार र उनीहरुको भविष्यको सुरक्षाका निम्ति पनि सरकारले लोकसेवा प्रक्रियाबाट स्थायी बनाउने कार्य गरेमात्रै नियोचित हुने उपाध्यक्ष पवन राजवंशीले बताए ।

 

जिल्ला निर्वाचन कार्यालयका सवारी चालक दुर्घटनामा परी मेरुदण्ड भाँचिएर हालसम्म ओछ्यानमा छन् भने दमकका नगर प्रमुखलाई लिएर विराटनगर कार्यक्रममा गएका नपाका सवारी चालक प्रकाश भण्डारीको कार्यक्रममा रहेकै बखत हृदयघातका कारण मृत्यु भएको थियो ।

 

यी घटना भइरहँदा कानून नभएकै कारणले सवारी चालकले पाउने सेवा सुविधाबाट बञ्चित हुनु परेको संस्थाले जनाएको छ । सरकारी सवारी चालकहरुका पीडा र दुःखमा संस्थाले यथासक्य सहयोग गर्दै आएको संस्थाका सदस्य ललित थापाले बताए ।