झापा (एजेन्सी) । तनहुँको आँबुखैरीनी गाउँपालिकास्थित ऐनापहिरोमा भएको बस दुर्घटनामा परी २७ जना यात्रुको मृत्यु भएको पुष्टि भएको छ।
उनीहरूको अहिले आँबुखैरेनी अस्पतालमा पोस्टमार्टम भइरहेको छ। प्रहरीका अनुसार मृतक २६ जनाको आँबुखैरेनी अस्पतालमा पोस्टमार्टम भइरहेको हो। एक जनाको भने चितवनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
अहिलेसम्म २७ जनाको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रहरी नायव निरीक्षक सन्तोष पौडेलले बताए । उनका अनुसार बस दुर्घटनामा घाइते भएका १६ जनालाई उपचारका लागि काठमाडौं पठाइएको छ।
नेपाली सेनाको हेलिकोप्टरबाट घाइतेहरूलाई काठमाडौं पठाइएको हो। प्रहरीका अनुसार उनीहरूको शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
दुई दिनअघि (भदौ ५) गते भारतको गोरखपुर हुँदै पोखरा पुगेका भारतीय पर्यटकहरू शुक्रबार बिहान काठमाडौंका लागि पोखराबाट हिँडेका थिए ।
उनीहरू सवार यूपी ५३ एफटी ७६२३ नम्बरको बस शुक्रबार बिहान साढे ११ बजे मर्स्याङ्दी नदी किनारमा खसेको थियो । प्रहरीका अनुसार बसमा सवार सबै यात्रुहरु भारतीय हुन् ।