अर्जुनधारा । अर्जुनधाराको लंका होटल सञ्चालकले ‘बलात्कार मुद्दामा लंका होटलका सञ्चालक राजवंशी पक्राउ’ भनेर गरिएको प्रचारप्रति आपत्ति जनाएका छन् ।

 

सञ्चालकमध्येका एकजना गोपाल पोखरेलले विज्ञप्ति जारी गर्दै अर्के व्यक्तिलाई बलात्कारजस्तो जघन्य अपराधमा पक्राउ गरेर होटल सञ्चालक भन्दै प्रचार गरिनु दुःखद भएको बताएका छन् ।

 

उनले प्रहरीलाई स्रोत मानेर विभिन्न सञ्चारमाध्यममा उल्लेख गरिएका सुनिल राजवंशी (लंका राजवंशी) लाई होटल व्यवस्थापनले नचिनेको बताएका छन् ।

 

होटलसँग असम्बन्धित व्यक्तिलाई होटलको सञ्चालक भन्दै प्रचार गरिएकोमा आपत्ति जनाउँदै पोखरेलले स्थापनादेखि नै लंका होटलको सञ्चालक आफू बताएका छन् । उनले गलत प्रचारले समाजमा भ्रम उत्पन्न गराएको भन्दै त्यस्ता भ्रमपूर्ण समाचारको विश्वास नगर्न सार्वजनिक अपिल गरेका छन् ।

 

भदौ ७ गते अर्जुनधारा ५ की एक किशोरीलाई स्थानीय ७ जना युवाले जबरजस्ती करणी गरेको घटना सार्वजनिक भएको थियो । घटनामा संलग्नमध्ये ६ जना पक्राउ परेका छन् । एकजना अझै फरार रहेकाले प्रहरीले खोजतलास गरिरहेको जनाएको छ ।

 

विज्ञप्तिमा पीडितलाई न्याय र पिडकलाई कानुनअनुसार सजाय दिन अनुरोध गरिएको छ । अर्जुनधारा क्षेत्रमा बढिरहेको चोरी, डकैती, लागुऔषध कारोबार तथा यौन हिंसाका घटना न्युनिकरणका लागि होटल व्यवस्थापनले प्रशासनसँग हातमा हात मिलाएर अघि बढ्न तयार रहेको विज्ञप्तिमा उल्लेख छ ।