झापा । धुलाबारीकी एक बृद्धालाई बोक्सीको आरोप लगाएर सामाजिकरुपमा प्रताडित गर्ने स्वघोषित स्थानीय माता बताउनेलाई प्रहरीले पक्राउ गरेको छ ।
यो घटनासँगै बोक्सीको आरोप लागेकी धुलाबारीकी ८१ वर्षीया बृद्धा आमालाई न्यायको ढोका खुलेको छ । बोक्सीको आरोप लागेकी स्थानीय बृद्धा गंगादेवी बस्नेतको बिषय कानुनी रुपमा अघि बढेको छ । स्थानीय महिलालाई बहकाउँदै आमालाई बोक्सीको आरोप जबरजस्ती लगाउने माताको उपनाम पाएकी महिलालाई पक्राउ परेसँगै कानुनी प्रकृया सुरु भएको हो ।
स्थानीय कुमारी चम्लागाईले माता पबित्रा शिवाकोटीसँग उपचारको क्रममा ति बृद्धामाथि बोक्सीको आरोप लागेको थियो । यस बिषयमा प्रहरीमा उजुरी परेसँगै पबित्रा शिवाकोटीलाई प्रहरीले पक्राउ गरेको हो । यसअघि कुमारी चम्लागाईको बिषयमा प्रहरीमा उजुरी परिसकेको थियो । प्रहरीले जिल्ला अदालतबाट पक्राउ पुर्जीसहित ति महिलालाई पक्राउ गर्न खोज्दा उनी फरार रहेकी छिन् ।
यो सँगै आज शुक्रबार बिहान ति माताबिरुद्ध प्रहरीमा उजुरी परेको थियो । प्रहरीले सम्पूर्ण प्रकृया पुरा गरेर माता भन्ने महिलालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी महेन्द्र श्रेष्ठले जानकारी दिए ।
माता पक्राउ परेसँगै कानुनी प्रकृया सुरु भएको श्रेष्ठको भनाई छ । अब दोषीलाई कारबाही र पीडितले न्याय पाउनुपर्छ भन्ने हो श्रेष्ठले भने । इलाका प्रहरी कार्यालय धुलाबारीले ति मातालाई पक्राउ गरिसकेको छ । माता पक्राउ परेपछि उनका आसेपासेहरु माता छुटाउन लागि परेका छन् ।
यसैबीच, आरोप लागेकी ८१ बर्षीया गंगादेवी बस्नेतले आफुले अब न्याय पाउने कुरामा बिश्वास रहेको बताएकी छिन् । माता पक्राउ परेसँगै ८१ बर्षीया बृद्धा आमाले दोषीलाई कारबाहीको माग पनि गरिन् ।
केही दिन अघिदेखि निकै चासोको बिषय बनेको धुलाबारीको एक बोक्सी आरोप काण्ड हो । स्थानीय ८१ बर्षीया बृद्धामाथि बोक्सीको आरोप लागेपछि यो बिषय निकै चर्चाको बिषय बनेको थियो ।
स्थानीय बृद्धा गंगादेवी बस्नेतमाथि नजिकै रहेकी छिमेकी महिलाले उपचारको क्रममा आफूलाई बोक्सी लगाएको भन्दै प्रहरी कार्यालयमा उजुरी परेको थियो ।घटना क्रमअनुसार छिमेकी कुमारी चम्लागाईलाई उपचारको लागि स्थानीय माताकोमा लगेका थिए । माता पबित्रा शिवाकोटीले उपचारको क्रममा ति बिरामी महिलामाथि उपचारको बहानामा चरम यातना दिएको देखिन्छ ।
आफूलाई स्वघोषित माता बताउने ती माताले बिरामीलाई बकाउने गरेकी भिडियो सावर्जनिक भयो । चक्कु, त्रिशुल, चम्मरले उफ्रिँदै बिरामीले बोक्सी को हो भन रु भन्दै भुत्ल्याउने, कराउने, पिट्ने गरेकी थिइन् । सोही क्रममा ति कुमारी चम्लागाईले आफु तिनै बस्नेत थरकी आमाको रुपमा बोक्सी हुँ भन्दै बोलेको भिडियो बाहिर आयो । जसमा माताले जबरजस्ती गरेको देख्न सकिन्छ ।
माताको यस्तो चर्तिकला अहिले विवादमा परेको छ । ति माता र बिरामी महिलाको बिषयमा प्रहरीमा उजुरी परेको भए पनि खासै चासो नदेखाएपछि वडामा केही दिनअघि छलफल समेत भएको थियो । छलफलमा बिरामी महिलाका श्रीमानले आफ्नो गल्ती महशुस गरेका थिए भने माताले आफ्नो गल्ती नभएको भन्दै आफ्ना कुरामाथि अडान राखेकी थिइन् ।
छलफलसँगै ति बृद्धा आमाले आफुले न्याय नपाएको बताएपछि मिडियामा ल्याइएको थियो । यसपछि थप माताको बिषयबस्तु बुझ्न माताकोमा पुगेका संचारकर्मीमाथि समेत मंगलबार र बुधबार उनका आसेपासेले दूर्व्यवहार गरे ।
पत्रकारलाई क्यामरा, मोवाइल केही चलाउन नदिइ माता पत्रकारमाथि जाइलागेकी थिइन् । माताले सञ्चारकर्मीलाई मन्दिरभित्रै अघोषित बन्दी बनाइन् । पत्रकारसँगको विवादपछि मात्र उनले तस्वीर खिच्न दिएकी थिइन् ।