बिर्तामोड । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले बिर्तामोडका मुख्य ठाउँहरुमा जेब्रा क्रसिङ निर्माण गरेको छ । बिर्तामोड नगरपालिकाको आर्थिक सहयोगमा विभिन्न स्थानमा जेब्रा क्रसिङ निर्माण गरिएको हो ।
जिल्ला ट्राफिक प्रहरी प्रमुख निरीक्षक गणेश पौडेलका अनुसार बिर्तामोडको मुक्तिचोक वरिपरी, भाटभटेनी सुपर मार्केट अगाडि र मोहनमाया माध्यमिक विद्यालय अगाडि गरेर ९ वटा जेब्रा क्रसिङ निर्माण गरिएको छ ।
यसअघि निर्माण गरिएका जेब्रा क्रसिङको रङ खुइलिएर देख्नै छाडेपछि यात्रुलाई सहज बनाउने उद्देश्यले जेब्रा क्रसिङ निर्माण गरिएको बिर्तामोड नगरपालिकाका कार्यवाहक नगर प्रमुख नगेन्द्रप्रसाद संग्रौलाले बताए ।
यसैगरी, वरिष्ठ नायव निरीक्षक अर्जुनप्रसाद सोडारीले स्थानीय विभिन्न संघसंस्थाको सहयोगमा अन्य स्थानमा पनि जेब्रा क्रसिङ निर्माण गरिने जानकारी दिएका छन् ।