भद्रपुर । झापाको अर्जुनधारा नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन् मा आज आइतबारदेखि तीन महिनाको लागि रोक लगाएकोे छ ।
नगरपालिकाले सूचना नै जारी गरेर असार १ गतेदखि भदौ ३० गतेसम्मलाई पूर्णरुपमा नदीजन्य पदार्थ उत्खनन् मा रोक लगाएको हो ।
नगरले यदि सूचनालाई बेवास्ता गरी कसैले नदीजन्य पदार्थ उत्खनन गरेको पाइएमा १० हजारदेखि ३० हजारसम्म जरिवाना र जफत गरिएको सामग्रीसहित सवारी साधानसमेत नियन्त्रणमा लिइने जनाइएको छ ।
पहिलोपटक उत्खनन् गरेको पाइएमा १० हजार, दोस्रापटक पाइएमा २० हजार र तेस्रोपटक पाइएमा ३० हजार जरिवाना गरिने नगरका प्रेस संयोजक सागर गौतमले बताए ।
उनका अनुसार कुनै पनि व्यक्ति वा संघसंस्थाले निषेधित कार्य भएको सूचना नगरलाई उपलब्ध गराएमा सो व्यक्ति वा संस्थालाई उचित पुरस्कारको व्यवस्था गरिएको छ । यस नगरपालिकाभित्र विरिङ, टाङटिङलगायतका नदी छन् । रासस
तस्वीर :उत्खनन्का लागि अनुमति पाएको सम्बन्धित ठेकेदार समूहले सुरक्षाकर्मीका साथ नदीजन्य सामग्री उत्खनन् गर्दै शुक्रबार ।