दूधे, (झापा) । आरएस पोखरामाथि गोल वर्षा गर्दै आयोजक झापा ११ एफसी झापामा आयोजित दोस्रो एक्स्ट्रिम झापा महिला गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

 

दूधे रंगशालामा आज भएको उद्घाटन खेलमा सजिना स्याङताङको ह्याट्रिकको मद्दतले झापा ११ ले पोखरालाई १०–० गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।

 

एकपक्षीय खेलमा झापाले पोखरालाई दबाबमा राखेको थियो । झापाको जितमा सजिना स्याङताङले ह्याट्रिकसहित ४, ममता राउतले २ तथा सेमिहाङमा लिम्बु, सञ्जु तामाङ, अञ्जली चन्द र पुनम चेम्जोङले १–१ गोल गरे ।

 

झापाका लागि पहिलो गोल सेमिहाङमा लिम्बूले ३४औँ मिनेटमा गरिन् । ४१औँ मिनेटमा झापाका लागि सजिना स्याङताङले गरिन् । ५५औँ मिनेटमा सजिनाले नै व्यक्तिगत दोस्रो तथा टिमको लागि तेस्रो गोल गरिन् ।

 

६५औँ मिनेटमा वैकल्पिक खेलाडी सञ्जु तामाङले मैदानको मध्यभागबाट सिंगल खेल्दै सुन्दर गोल गरिन् । ६६औँ मिनेटमा सजिनाले गोल गर्दै ह्याट्रिक पूरा गरिन् । ७४औँ र ७८औँ मिनेटमा ममता राउतले गोल गरिन् ।

 

ह्याट्रिक पूरा गरेकी सजिनाले ८०औँ मिनेटका अर्को गोल थपिन् । ८५औँ मिनेटमा झापाका पुनम चेम्जोङले पोखराका खेलाडीबाट रिबाउन्स भएको बललाई गोलमा परिणत गराइन् । खेलको अतिरिक्त समयमा अञ्जली चन्दले गोल गर्दै १०–० को अवस्थामा खेललाई पु¥याइन् ।

 

खेलको प्लेयर अफ द म्याच विजेता झापाकी सजिना स्याङताङ घोषित भइन् । उनले नगद १५ हजार रुपैयाँ पुरस्कार पाइन् । आइतबार विभागीय क्लब त्रिभुवन आर्मी फुटबल क्लब र भारतको एभी एफसीबीच हुनेछ ।

 

प्रतियोगितामा आयोजक झापा–११ सहित आरएस पोखरा फुटबल क्लब, बागमती युथ क्लब, भुटानको थिम्पु राभेन वुमन एफसी, भारतको एभी फुटबल क्लब, नेपाल पुलिस फुटबल क्लब, त्रिभुन आर्मी एफसी र सशस्त्र प्रहरीको एपिएफ एफसीको सहभागिता रहेको छ ।

 

प्रतियोगिताको विजेताले नगद ११ लाख तथा उपविजेताले ५ लाख ५० हजार रुपैंयाँ पुरस्कार पाउने छ । प्रतियोगिताको उत्कृष्ट एकजना खेलाडीले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छ । त्यसैगरी, उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेन्डर, सर्वाधिक गोलकर्ता तथा प्रशिक्षकले जनही २५ हजार रुपैंयाँ पुरस्कार पाउनेछ ।

 

उद्घाटन कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ थोप्राले दूधे रंगशालालाई नगर गौरवको आयोजनाका रुपमा राखिएको बताए । उनले यस रंगशालालाई एकाडेमीका रुपमा विकास गर्दै महिला फुटबल खेलाडी उत्पादनको गन्तव्य बनाउने धारणा राखे । कार्यक्रम आयोजक झापा महिला गोल्डकपका अध्यक्ष सन्तोष थोप्राको अध्यक्षतामा भएको थियो ।