झापा । झापाको मेचीनगर-९ स्थित खुट्टीडाँगी दुर्गा टोलमा आमाछोरा दुई जनामा डेँगुको सङ्क्रमण देखिएको छ ।

मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार सुनसरीको धरानमा अध्ययनमा रहेका बखत २२ वर्षीय छोरालाई डेँगु भएको र उनको हेरचाहमा पुगेकी ४९ वर्षीया आमामा समेत डेँगुको लक्षण देखिएको हो ।

डेंगुले पछिल्लो समय सुनसरीको धरानमा प्रकोपको रुप लिइसकेको छ । यसअघि जिल्लाको भद्रपुर, बिर्तामोड, अर्जुनधारा, दमक नगरपालिकालगायतका पालिकामा ८ जना डेँगु सङ्क्रमण व्यक्ति फेला परेका थिए ।

मेचीनगर नगरपालिकाका स्वास्थ्य शाखा संयोजक शशीकला राईका अनुसार उहाँहरुको उपचार धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको तथा स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

पछिल्लो समय अहिलेसम्म मेचीनगरमा डेँगुका रोगी फेला परेका थिएनन् । झापामा पहिलो पटक सन् २०१२ मा काँकरभिट्टामा फेला परेको थियो । धरानमा रहेका बखत दुवैजनामा डेँगु सङ्क्रमण देखिएको बताइएको छ ।

मेचीनगरमा डेँगु सङ्क्रमित फेला परेलगत्तै मेचीनगर नगरपालिकाले डेँगु रोग नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजी नष्ट गर्ने अभियान सुरु गरेको छ ।

हिजो मेचीनगर-९ स्थित खुट्टीडाँगी दुर्गा टोलमा मेचीनगर नगरपालिकाका स्वास्थ्य शाखा संयोजक शशीकला राई, सह–संयोजक रामनारायण यादव नेतृत्वको जनप्रतिनिधि, आमा समुह, टोल विकास संस्थाका प्रमुख प्रतिनिधिसहितको टोलीले लार्भा खोजेर नष्ट गर्ने काम सुरु गरेको छ ।