झापा । पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधारा ७ स्थित अर्जुनधारा जलेश्वरधाममा अहिले ४२औं वार्षिक अनुष्ठान चलिरहेको छ । धाम क्षेत्रमा पुगेर पूजाअर्चना तथा कथा श्रवण गर्ने भक्तजनको संख्या दैनिक बृद्धि हुँदै गएको छ ।
विश्व शान्तिको कामना र पितृ उद्दारको मुख्य उद्देश्यले गत मंसिर ८ गतेदेखि शुरु भएको अष्टोत्तरशत् (१०८) श्रीमद् भागवत पाठपारायण साथै संगीतमय कथा प्रवचन एवम् हवनात्मक महायज्ञको पाँचौं दिनसम्म झापासहित देशका विभिन्न स्थान र छिमेकी देश भारतबाट भक्तजनहरु आएका छन् ।
काठमाण्डौं, उदयपुर, सुनसरी, मोरङ, इलाम, पाँचथर, ताप्लेजुङसँगै भारतको सिक्किम र पश्चिम बंगाल राज्यबाट भक्तजनहरु दर्शनका लागि आएको धाम व्यवस्थापन समितिका महासचिव शिवलाल खतिवडाले जानकारी दिए ।
त्यसैगरी धाम प्रवेश गर्ने मुख्य चोक अर्जुनधारा ८ स्थित शनिश्चरे बजारदेखि धाम मुख्य प्रवेशद्वारसम्म आकर्षकरुपमा सजाइएको विभिन्न किसिमका विद्युतीय सामग्रीहरुबाट श्रृंगार गरिएको धाम क्षेत्रलाई अवलोकन गर्न आउने आन्तरिक पर्यटकहरुको संख्या पनि उत्तिकै रहेको छ ।
त्यस्तै सोही अनुष्ठानलाई लक्षित गरि दैनिकरुपमा अर्जुनधारा नगरपालिकासँगै नगरपालिका बाहिर रहेका विभिन्न पालिकाका संस्थागत विद्यालयबाट विद्यार्थीहरु अवलोकनका लागि धाम क्षेत्रमा आउने गरेका छन् ।
दैनिकरुपमा हुने महायज्ञका प्रमुख आचार्य धर्मदर्शन फाउन्डेशनका संस्थापक एवम् धामका व्यासाचार्य पण्डित कुवेर सुवेदीको कथा प्रवचन, सहआचार्य एवम् धामका मूलअर्चक अग्निप्रसाद सिग्देलको आचार्यकत्वमा १०८ जना आचार्यसहितको श्रीमद् भागवत पाठपारायण, पाँच जना यज्ञाचार्यको साथमा ५१ जना बटुकद्वारा यज्ञमण्डपमा हुने हवन रुद्रीपाठ, पाँच जना ब्राह्मणद्वारा गरिने महाआरती (गंगा आरती), महात्मय, झाँकीसहितको संगीतमय भजन कीर्तनका कारण धाम क्षेत्रमा आउने भक्तजनहरुको संख्यामा बृद्धि भएको छ ।