झापा । अर्जुनधारा नगरपालिकामा सोमबारदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ ।
नगरपालिकाका मेयर हरिकुमार राना मगरले नगर परिसरमा धुपीको बिरुवा रोपेर उद्घाटन गरिएको प्रम रोजगार कार्यक्रममा ८० प्रतिशतभन्दा बढी महिलाले रोजगार पाएका छन् । नगरका ११ वटै वडा कार्यालयबाट आएको सिफारिसका आधारमा यसपटक २७० जनालाई रोजगार प्रदान गरिएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक केशवराज ढुंगेलले कार्यक्रमका बारेमा औचित्यमाथि प्रकाश पारेका थिए भने प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेलले नगरबाट रोजगार कार्यक्रममा भएका गतिविधिबारे जानकारी गराएका थिए ।

आवेदक कति ?
कार्यक्रम संयोजक ढुंगेलका अनुसार सबै वडाबाट तीन हजार १४२ जनाले रोजगारका लागि आवेदन दिएका थिए । उनीहरुमध्ये प्रतिशतका आधारमा ३०० जना छानिए पनि ३० जना वैकल्पिक उम्मेदवारको रुपमा राखिएको छ ।
समय र ज्याला ?
छनौटमा परेकालाई १५ दिनसम्म तोकिएको स्थानमा काम लगाइनेछ भने रोजगारवापत सरकारले तोकेको दैनिक ज्यालादारी ५१७ रुपैयाँ प्रदान गरिनेछ ।
कुन वडामा बढी आवेदक ?
संयोजक ढुंगेलका अनुसार सबैभन्दा बढी १० नम्बर वडाबाट ५८३ जनाले आवेदन दिएका मध्ये ५६ जना छनौट भए भने सबैभन्दा कम्ती ८ नम्बर वडाबाट ८६ जनामध्ये ८ जना कार्यक्रममा छनौट भएका छन् ।
कुन कुन वडामा कति कामदार ?
त्यस्तै, १ नम्बरमा ४३, २ नम्बरमा २८, ३ नम्बरमा ३८, ४ नम्बरमा १३, ५ नम्बरमा २५, ६ नम्बरमा १५, ७ नम्बरमा १३, ९ नम्बरमा ३१ र ११ नम्बरबाट २९ जना रोजगार कार्यक्रममा छनौटमा परेका छन् । उनीहरुलाई नगरपालिकाका विभिन्न वडा कार्यालयमा काम दिलाइनेछ ।

कहाँ कहाँ काम गराइनेछ ?
उनीहरुलाई नगरपालिकाको कार्यालय परिसर, शनिश्चरे चोक बजारको विभाजक, ७ नम्बर वडा कार्यालय परिसर, अर्जुनधारा मन्दिर परिसर, ९ नम्बरको प्रणामी मन्दिर परिसर, ७ नम्बरको खेलमैदान र ३ नम्बरको वडा कार्यालय परिसरमा फलफूलको बिरुवा रोप्ने, बगैँचा निर्माण गर्नेलगायतको काम दिइने संयोजक ढुंगेलले बताए ।
बजेट के मा कति ?
कार्यक्रमका लागि केन्द्रीय सरकारबाट ३० लाख रुपैयाँ बजेट विनियोजन भइ आएको छ । जसमध्ये ७० प्रतिशत अर्थात् २१ लाख कामदारको ज्याला, २५ प्रतिशत अर्थात् ७ लाख ५० हजार मेटेरियल (निर्माण समाग्री) खरिद, ३ प्रतिशत अर्थात् ९० हजार सेफ्टी सामग्री खरिद र १-१ प्रतिशत कन्टेन्जेन्सी र सुपरिवेक्षणमा खर्च गरिने छ ।
कुन बिरुवा रोपिन्छ ?
तोकिएको स्थानमा बगैँचा निर्माण गरी, रुद्राक्ष, लिची, आाप, धुपी, लालुपाते, कटहर, फूलको बिरुवा, लहरे अशोक, गुलाबी र बेलको बिरुवा रोपिने भएको छ । माथि निर्धारण गरिएको स्थानमा एक हजार २९८ वटा बिरुवा रोपिने भएको छ ।
कामपछि के पाउँछन् ?
अहिले छनौटमा परी १५ दिन काम गर्ने कामदारलाई प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् लाभग्राही परिचयपत्र प्रदान गरिने संयोजक ढुंगेलले जानकारी दिए ।
उक्त परिचयपत्रका आधारमा उनीहरुले बर्सेनि कम्तिमा १०० दिन काम गर्ने अवसर पाउने भएका छन् । १०० दिन काम नपाए, काम गर्न नपाए पनि उसको परिवारको एक सदस्यले कम्तिमा ५० दिनबराबरको भत्ता पाउने कार्यक्रम संयोजक ढुंगेलले बताए ।
संरक्षण कसरी गर्ने ?
संयोजक ढुंगेलले रोपिएका बोटबिरुवाको संरक्षणका लागि कम्तिमा दुई जना कर्मचारी नियुक्त गर्ने सोच बनाएका छन् । उनीहरुलाई वार्षिक ज्यालादारीको रुपमा सबै वडामा हेर्ने गरी नियुक्त गरिने बताइएको छ । बोटबिरुवाको मलजल, संरक्षण, बारबेरा उनीहरुले गर्नुपर्ने जिम्मेबारी हुनेछ ।