खुदुनाबारी । झापाको अर्जुनधारा जेसीज शनिश्चरेले आज स्वास्थ्य शिविर आयोजना गरी जेसीज सप्ताह २०२४ समापन गरेको छ ।

 

जेसीज सप्ताह कार्यक्रमअन्तर्गत अर्जुनधारा ४ दहीझोडास्थित लक्ष्मी आविका ३२ जना विद्यार्थीलाई जुत्ता वितरण गर्दै गत मंसीर ४ गते उद्घाटन भएको कार्यक्रम शुक्रबार अर्जुनधारा २ नम्बर वडा कार्यालयमा विशेषज्ञ डाक्टरसहितको निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै सम्पन्न भएको हो ।

 

वडा कार्यालयको आर्थिक सहयोग रहेको शिविरमा अर्जुनधारा ६ स्थित मेडिका हस्पिटल, अर्जुनधारा–८ स्थित आरोग्य डेन्टल क्लिनिक र बिर्तामोड ५ स्थित आरोग्य मल्टी स्पेशलिष्ट डेन्टल क्लिनिकको प्राविधिक सहयोग रहेको जेसीजका अध्यक्ष वसन्त बुढाथोकीले जानकारी दिए ।

 

जेसीजका उपाध्यक्ष सागर घिमिरेको संयोजकत्वमा आयोजित उक्त शिविरको प्रमुख अतिथि वडाध्यक्ष नरेन्द्रकुमार श्रेष्ठले उद्घाटन गरेका थिए । स्वास्थ्य शिविरमा ८७ जनाले सेवा लिएको जेसीजले जनाएको छ ।

 

हस्पिटलका फिजिसियन डा उमाशंकर सिंह, आरोग्य डेन्टलका डा रितेश शिवाकोटी, आरोग्य मल्टि स्पेशलिष्टका डा स्नेहा खड्कालगायतले सहभागीहरुको स्वास्थ्य परीक्षण गरेका थिए ।

 

कार्यक्रममा अर्जुनधारा ३ का वडाध्यक्ष सीताराम भट्टराई, नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष भीमबहादुर कुँवर र नेपाल रेडक्रस सोसाईटी खुदुनाबारी उपशाखाका अध्यक्ष मुकुन्द भण्डारीले मन्तव्य राखेका थिए । जेसीजका उपाध्यक्ष घिमिरेले स्वागत तथा कोषाध्यक्ष बिमला भट्टराईले जेसीज आस्था वाचन प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन सचिव गौरव भण्डारीले गरेका थिए ।

 

जेसीजले सप्ताह कार्यक्रमअन्तर्गत अर्जुनधारा ४ वडा कार्यालयको आर्थिक सहयोगमा वडाका विभिन्न क्लबलाई खेलकुद सामग्री वितरण, युवाहरुका लागि आधारभूत कम्प्युटर तालिम सञ्चालन र अर्जुनधारा मावि र नवदुर्गा आविमा निःशुल्क आँखा शिविर, अर्जुनधारा ७ मा जेसीज मार्गको नामकरण कार्यक्रम सम्पन्न गरेको थियो ।

 

युवाहरुको व्यक्तित्व तथा नेतृत्व विकाससँगै समुदायमा विभिन्न सामाजिक गतिविधि सञ्चालन गर्ने जेसीजले यस वर्ष विभिन्न विद्यालयमा शैक्षिक सामग्री एवम् ब्याग वितरण, खाद्य सामग्री वितरण, दृष्टिविहीनलाई सेतो छडी वितरण गरेको थियो ।

 

यसैगरी, श्रमिकहरुका लागि सुरक्षा सामग्री गमबुट, खोलामा काम गर्ने श्रमिकहरुका लागि बेल्चा, कम्प्यूटर तालिम र अङग्रेजी भाषा तालिमलगायतका कार्यहरु गरेको अध्यक्ष बुढाथोकीले जानकारी दिए ।