झापा । झापा गाउँपालिका ६ मा एक बद्धाको हत्या भएको छ ।हत्या गरेर गाईवस्तुले घाँस खाने डुँडमा परालले छोपेर राखेको अवस्थामा स्थानीय बृद्धाको शव शनिबार साँझ फेला परेको हो ।
घरका सबै सदस्य मकै रोप्न गएका बेला ८१ वर्षीया फूलमणि सोरेनको हत्या भएको आशंका गरिएको छ । काम सकेर घर फर्किंदा बृद्धा फूलमणिलाई नदेखेपछि खोजी गर्नेक्रममा डुँडमा परालले छोपेर राखेको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।
मृतकका ज्वाइँले डुँडको पराल हटाउन खोज्दा बृद्धाको शव देखेको झापा गाउँपालिका ६ का वडाध्यक्ष नवीनकिशोर थापाले बताए । मुढामा बसेर तोरीको साग केलाउँदै गर्दा ती बृद्धालाई फरुवाले हानेर हत्या गरेको हुनसक्ने आशंका गरिएको छ ।
फरुवा घटनास्थलमा फेला परेको छ । प्रहरीले घटनास्थल सिल गरी अनुसन्धान गरिरहेको वडाध्यक्ष थापाले जानकारी दिए । घटनामा संलग्न भएको आशंकामा दुईजनालाई नियन्त्रणमा लिइएको जनाइएको छ ।