दमक । झापाको दमकमा सबैभन्दा बढी आत्महत्याका घटना भएको पाइएको छ । गएको चार महिनामा जिल्लामा भएका आत्महत्याका घटना विवरणअनुसार दमकमा आत्महत्याको संख्या बढी भएको पाइएको हो ।

जिल्लाको १५ वटा स्थानीय तहमध्ये सबैभन्दा धेरै आत्महत्याका घटना दमक नगरपालिकामा, दोस्रोमा बिर्तामोड नगरपालिका र तेस्रोमा भद्रपुर नगरपालिका रहेको जिल्ला प्रहरी कार्यालय झापाको तथ्यांकमा उल्लेख गरिएको छ ।

प्रहरीले उपलब्ध गराएको विवरण अनुसार भद्रपुरमा १३, अर्जुनधारामा ८, बिर्तामोडमा १३, कचनकवलमा ६, हल्दिवारीमा ७, कनकाईमा ६, शिवसताक्षी, कमल, गौरादह, झापामा ५ र ५, दमकमा १७, र बाह्रदशीमा ३ जनाले आत्महत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार चार महिनामा आत्महत्या गर्ने १ सय ८ जनामध्ये ६२ जना पुरुष र ४६ जना महिला रहेका छन् । तीमध्ये ९१ जनाले झुण्डिएर र १७ जनाले विष सेवन गरेर आत्महत्या गरेको तथ्याङकमा उल्लेख छ ।

फागुन, चैत, बैशाख र जेठ महिनामा सबैभन्दा बढी आत्महत्या गरेको प्रहरीको तथ्यांकमा उल्लेख छ । प्रहरीको तथ्यांकमा फागुनमा २७, चैतमा २७, बैशाखमा २३ र जेठमा ३१ जनाले आत्महत्या गरेका छन् । विवरणअनुसार औषतमा दैनिक एक जनाले आत्महत्या गरिरहेका छन् ।

प्रहरीको प्रतिवेदनमा आत्महत्याको घटना अधिकतम घरभित्र छन् भने केही रुखमा तथा केही होटलमा समेत झुण्डिएर आत्महत्या गरेको जनाइएको छ ।

त्यस अवधिमा भएको घटनामा ११ वर्षदेखि ७८ वर्षसम्मका व्यक्तिले आत्महत्या गरेको प्रहरीको तथ्याङकमा उल्लेख छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जिल्लाको आत्महत्यासम्बन्धी चार महिनाको घटना तथ्याङक चुनौतीका रुपमा देखिएकाले त्यसलाई नियन्त्रण गर्न सचेतना जरुरी रहेको बताए ।

‘दैनिक १ जनाले आत्महत्या गरिरहेको अवस्था छ, उनले आत्महत्याको कहालीलाग्दो यस्तो अवस्था नियन्त्रण गर्न समाजका हरेक समुदायहरुमा सचेतना अभियान सञ्चालन गर्न ढिलो गर्न नहुने बताए ।