झापा । घरेलु कामदारको रुपमा राखिएकी १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका बिर्तामोड नगरपालिकाका पूर्व नगर प्रमुख ध्रुवकुमार शिवाकोटी आज जेल चलान भएका छन् ।

 

झापा जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो । आज भएको थुनछेक बहसपछि न्यायाधीश नवीनकुमार जोशीको इजलासले शिवाकोटीलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको अदालतका स्रेस्तेदार किरणकुमार सिंहले जानकारी दिए ।

 

शिवाकोटीको स्वास्थ्य अवस्थालाई ख्याल गरी स्वास्थ्य उपचारको व्यवस्था गर्न न्यायाधीशको आदेशअनुसार झापा कारागार प्रशासनलाई पत्र पठाइएको सिंहले बताए । हिजो शिवाकोटीसँग बयान लिइएको थियो । शिवाकोटीको पक्षमा अशोक पोखरेल , गजेन्द्र आचार्य, टंक उप्रेती, बालकुमार कटवाललगायतका कानुन व्यवसायीहरुले बहस गरेका थिए ।

 

घरेलु कामदारको रूपमा राखिएकी बालिकालाई करणी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेकै दिनदेखि बीएण्डसी अस्पतालमा राखेको थियो । प्रहरीले उनलाई गत मंसिर २४ गते पक्राउ गरेको थियो ।