शनिश्चरे (झापा) । अर्जुनधारा जेसीज वर्ष २०२४ को कार्यसमितिले आफ्नो एकवर्षे कार्यकालमा ४१ वटा कार्यक्रम गर्न सफल भएको जनाएको छ । जसमा अनुभव साटासाटदेखि सामाजिक कार्यहरु रहेका छन् ।
सन् २०२४ का लागि बसन्त बुढाथोकीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको थियो । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाको प्रमुख आतिथ्यमा माघ १२ गते उक्त समितिको पद हस्तारन्तरण तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको थियो ।
सोही महिनामा युथ अफ खुदुनाबारीसँगको सहकार्यमा नहुनेका लागि कपडा बैंक सञ्चालन गरियो भने अर्जुनधारा २ मा रहेका नवज्योति आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको थियो ।
यसैगरी, फागुन ६ गते अर्जुनधारा ६ को अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रमा आश्रित अपांगता भएका व्यक्तिलाई खाद्य सामग्री वितरण गरिएको जेसीजले जनाएको छ । यस्तै, २१ गते म्याराथन धावकहरुलाई फलफूल तथा पानी जेसीजले वितरण गरेको थियो ।
दृष्टिविहीनहरुका लागि अर्जुनधारा ८ स्थित शनिश्चरे बजारमा रहेको देवकोटा चोकमा नगर प्रमुख बलदेवसिंह गोम्देनको उपस्थितिमा सेतो छडी वितरण गरिएको थियो । यसैगरी, चैत १० गते अर्जुनधारा ११ मा रहेका मजदुरहरुका लागि असल अभिभावकत्व तालिम आयोजना गरी सुरक्षा सामग्री वितरण गरिएको जेसीजका अध्यक्ष बुढाथोकीले जानकारी दिए ।
जेसीजले २०८० सालको क्यालेन्डर विमोचन गर्नुका साथै यस क्षेत्रका धार्मिक संघसंस्थाको प्रवद्र्धन गर्ने काम गरेको थियो । यसैगरी, विरिङ खोलामा आश्रित मजदुरहरुका लागि जेसीजले बेल्चा वितरण गरेको थियो । यस्तै, गरिब तथा जेहेन्दार विद्यार्थीका लागि निःशूल्क आधारभूत तालिम तथा अंग्रेजी भाषा तालिम प्रदान गरेको छ ।
यसैगरी, जेठ ४ गते विपन्न तथा जेहेन्दार विद्यार्थीहरुका लागि स्कुल ब्यग वितरण गरिनुका साथै डेगु रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको थियो । यस्तै, अर्जुनधारा नगरमा रहेका सामुदायिक विद्यालयमा अध्ययनरत छात्रछात्राबीच युवा उद्यमी स्वदेशमा लगानी शीर्षकमा अर्जुनधारा १ को सिंहदेवी माविमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो ।
शैक्षिक क्षेत्रमा मात्र नभएर जेसीजले वातावरणको क्षेत्रमा पनि काम गरेको छ । विश्व वातावरण दिवसको अवसरमा अर्जुनधारा ५ स्थित कञ्चनबारी आवि विद्यालय परिसरमा वृक्षारोपण गरेको थियो । यस्तै, अर्जुनधारा नगर योगयुक्त क्षेत्र घोषणा कार्यक्रममा ५० थान टिसर्ट वितरण गर्दै स्वास्थ्य क्षेत्रमा पनि योगदान पुराएको छ ।
जेसजले संविधान दिवसको अवसर पारेर फरक क्षमता भएका व्यक्तिहरुका लागि खाद्य तथा शैक्षिक सामग्री वितरण गरेको थियो । जेसीज सप्ताह कार्यक्रमअन्तर्गत अर्जुनधारा ४ को लक्ष्मी आविमा स्कुल बुट, युवाहरुका लागि खेलकुद सामग्री वितरण गरिएको थियो ।
यसैगरी, विद्यार्थी लक्षित कम्प्युटर तालिमसँगै अर्जुनधारा मावि र नवदुर्गा आविका विद्यार्थीहरुका लागि आँखा शिविर सम्पन्न गरिएको थियो । यस्तै, अर्जुनधारा ७ मा जेसीज मार्ग नामकरण गरिएको थियो । अर्जुनधारा जलेश्वरधाममा आयोजित वार्षिक अनुष्ठानमा निःशूल्क पिउने पानी वितरणसँगै सरसफाइ कार्यक्रम गरेको थियो ।
कार्यकालको अन्त्यतिर मंसिर २१ गते अर्जुनधारा २ को वडा कार्यालयमा दक्ष चिकित्सकको उपस्थितिमा स्वास्थ्य शिविर आयोजना गरी दाँत जाँच गरिएको थियो ।
अर्जुनधारा जेसीजले सन् २०२४ मा उत्कृष्ट काम गरेवापत क्षेत्र र नेपाल जेसीजबाट सम्मान प्राप्त गरेको थियो । क्षेत्र क सम्मेलनबाट उत्कृष्ट अन्तर्राष्ट्रिय क्षेत्र सहयोग पुरस्कार पाएको थियो ।
यसैगरी, नेपाल जेसीजबाट सूचना तथा प्रविधि राष्ट्रिय संयोजकको जिम्मेवारी पाएको थियो भने झापा जेसीज स्थापनाका लागि मातृत्व प्रदान गरिएको अध्यक्ष बुढाथोकीले जानकारी दिए ।