झापा । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाले प्रदान गर्दै आएको स्व डिकमान सुनुवार विरही स्मृति वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार यसवर्ष झापाका अग्रज पत्रकार विष्णु सुब्बालाई प्रदान गरिने भएको छ ।

 

अग्रज पत्रकार स्व डिकमान विरहीको स्मृतिमा फोनिजले प्रदान गर्दै आएको पुरस्कार यो पटक सुब्बालाई प्रदान गर्ने निर्णय भएको फोनिज झापाकी अध्यक्ष भूमिका सुब्बा फियाकले जानकारी दिइन् ।

 

झापाको दमकलाई कर्मथलो बनाई विगत अढाई दशक लामो समयदेखि निरन्तर पत्रकारिता गरिरहेका राष्ट्रिय समाचार समिति (रासस) सम्वाददाताका रूपमा कार्यरत सुब्बालाई पुरस्कार छनोट समितिको सिफारिसमा निर्णय गरिएको अध्यक्ष फियाकले जानकारी दिइन् ।

 

पूर्वअध्यक्ष गणेशमान मुखियाको संयोजकत्वमा रहेको फोनिज झापाको ५ सदस्यीय पुरस्कार छनोट समितिले सुब्बाको नाम सिफारिस गरेको हो । समितिको सिफारिसमा सुब्बालाई पुरस्कार प्रदान गर्ने निणर्य भएको अध्यक्ष फियाकले बताइन् । उक्त पुरस्कारको राशि नगद २५ हजार रहेको छ ।

 

त्यस्तै, फोनिज उदीयमान पत्रकारिता पुरस्कार २०८१ बाट सूर्योदय टेलिभिजनमा कार्यरत पत्रकार रविकिरण बान्तावा राई र हरप्रहर न्यूज डटकममा कार्यरत सजन राईलाई प्रदान गर्ने निर्णय भएको फोनिजका जिल्ला सचिव तिलक योञ्जनले जानकारी दिए ।

 

फोनिज झापाको माघ १४ गतेको निर्णयले स्व डिकमान सुनुवार विरही स्मृति वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कारका लागि समितिले छनोट गरेको नाम अनुमोदन र उदीयमान पत्रकारिता पुरस्कारका लागि २ जना प्रतिभा छनोट गरेको योञ्जनले बताए ।

 

उदीयमान पत्रकारिता पुरस्कारको राशि ५-५ हजार रूपैयाँ रहेको छ । ३ वटै पुरस्कार माघ १९ गते बिर्तामोडमा हुने फोनिज झापाको सातौं जिल्ला अधिवेशनको अवसरमा प्रदान गरिनेछ ।