शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिका र बुद्धशान्ति गाउँपालिकामा सञ्चालित निजी विद्यालयका सवारी चालकलाई आज शनिश्चरेमा ट्राफिक नियमसम्बन्धी सचेतना कार्यक्रम दिइएको छ ।
प्याब्सन झापाको आयोजना तथा अर्जुनधारा र बुद्धशान्ति प्याब्सनको सहआयोजनामा अर्जुनधारा ९ स्थित प्रगति सेकेण्डरी बोर्डिङ स्कुलमा सवारी चालकहरुलाई सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी सचेतना कार्यक्रम गरिएको हो ।
झापा जिल्ला ट्राफिक प्रहरी कार्यालयको प्राविधिक सहयोगमा आयोजित कार्यक्रमको उद्घाटन प्रमुख अतिथि तथा अर्जुनधारा ८ नम्बर वडा अध्यक्ष कुमारप्रसाद उप्रेतीले गरेका थिए ।
उनले सवारी चालकले विद्यार्थीलाई ओसारपसार गर्नुपर्ने महत्वपूर्ण जिम्मेवारी लिएको हुनाले साना बालबालिकाको सुरक्षाका लागि पनि ट्राफिक नियम पालना गर्नुपर्ने कर्तव्य रहेको बताए ।
ट्राफिक नियमको पालनासँगै आफूले चलाउने सवारीसाधनको अवस्थालाई दुरुस्त राख्न आग्रह गरेका उनले विद्यालय प्रशासन र अभिभावकले पनि आवश्यक व्यवस्थापनमा सहजीकरण गर्नुपर्नेमा जोड दिए ।
झापा ट्राफिक प्रमुख तथा सहजकर्ता प्रहरी निरीक्षक गणेश पौडेलले अर्जुनधाराका ३३ वटा र बुद्धशान्तिका १७ वटा विद्यालयका सवारी चालकलाई ट्राफिक नियमबारे जानकारी दिँदै आवश्यक परामर्श प्रदान गरेका थिए ।
उनले स्कुल बस सञ्चालन निर्देशिका २०७४, ट्राफिकका सामान्य नियमहरुको बारेमा जानकारी दिएका थिए भने सवारी दुर्घटना ८० प्रतिशत लापरबाहीले हुने बताए ।
उनका अनुसार नेपालमा दुर्घटनाका कारण वार्षिक २ हजार ५ सय जनाको ज्यान जाने गरेको तथा १० हजार व्यक्ति अंगभंग हुने गरेको तथ्यांक प्रस्तुत गरेका थिए ।
प्याब्सन बुद्धशान्तिका अध्यक्ष तिलक पाख्रिनको अध्यक्षता, अर्जुनधारा प्याब्सनका कोषाध्यक्ष राजन वाग्लेले स्वागत गरेको कार्यक्रम अर्जुनधारा प्याब्सनका सचिव ताराप्रसाद नेपालले सञ्चालन गरेका थिए ।