खुदुनाबारी । झापाको अर्जुनधारा २ मा रहेको शान्ति सामुदायिक वन उपभोक्ता समूहलाई चलायमान बनाउन खर्च घटाएर भए पनि अघि बढ्न सरोकारवालाहरुले सुझाव दिएका छन् ।
समूहको कार्यालयमा बुधबार आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरुले त्यस्तो सुझाव दिएका हुन् । उनीहरुले समूहले ऋण लिएर काम गर्नुभन्दा खर्च घटाएर दैनिक कार्य सम्पादनमा जोड दिन आग्रह गरे ।
यसैगरी, दैनिक कार्य सम्पादन गर्दा प्रक्रिया पुर्याएरमात्र अघि बढ्न सुझाव दिँदै अधिकांश वक्ताहरुले समय ढिलो भएर केही नहुने तर प्रक्रिया पूरा नगरी काम गरेको खण्डमा दुर्घटना निम्तिने भएकाले सचेत भएर काम गर्नुपर्नेमा जोड दिएका थिए ।
राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, सल्लाहकार समिति, लेखा समिति, समूहअन्तर्गतका टोल संयोजकहरुसँग समूहको विविध विषयबारे छलफल गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको समूहका अध्यक्ष खगेन्द्र कोइरालाले बताए ।
सोही कार्यक्रमबाट वन क्षेत्रमा ढलेको रुखहरुको संरक्षण गर्ने, समूहको ब्लक नम्बर ४ मा पोखरी निर्माण गर्ने, विपन्न उपभोक्ताहरुलाई निःशुल्क काठ तथा दैलो वितरण गर्ने, समूहको कार्यालयमा ई–हाजिरीको व्यवस्थापन गर्नेलगायतका निर्णयहरु पारित भएको समूहका सचिव नरेन्द्रप्रसाद गौतमले जानकारी दिए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी खुदुनाबारीका अध्यक्ष जीवकुमार भण्डारी, खुदुनाबारी साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष कृष्ण दंगाल, बेलटार-गाँजाबारी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष योगेन्द्र आचार्य, समूहका सल्लाहकार लीलानाथ खनाल, टोल नम्बर २ का संयोजक सोमनाथ खतिवडा, टोल नम्बर ५ का संयोजक लक्ष्मीकान्त खनाललगायतले आफ्नो सुझावसहित जिज्ञासा राखेका थिए ।
यसैगरी, नगर सभा सदस्य प्रेम उपरकोटी, सामुदायिक वन उपभोक्ता महासंघ झापाका सदस्य तुलसीप्रसाद खतिवडा, नेकपा एमालेका वडा कमिटीका अध्यक्ष हरि घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टी नगरका उपाध्यक्ष खगेन्द्र पौडेल, लेखा समितिका संयोजक गोपालकृष्ण लामिछानेलगायतले प्रस्तुत विषयहरुमाथि आफ्नो धारणा राखेका थिए ।
समूहका अध्यक्ष कोइरालाले कार्यक्रमको औचित्यमाथि प्रकाश र उपाध्यक्ष लक्ष्मी कन्दङवाले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव गौतमले गरेका थिए ।