झापा । ठूलो मात्रामा लागूऔषध ब्राउन सुगरसहित एक कारोबारी पूर्वी सीमा क्षेत्रमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक रहेका छन् ।

 

आज दिउँसो ४ बजे भारतको पानीट्याङ्कीको शिव मन्दिर हुँदै मेची खोलाको बाटो गरी नेपालतर्फ लागूऔषध भित्र्याइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट प्रहरी खटिएको थियो ।

 

प्रहरी टोलीले भारत पश्चिम बंगाल दार्जिलिङ जिल्ला मञ्जयाजोत खोरीबारी थाना बस्ने ४१ वर्षीय राजेन बर्मनलाई ठूलो मात्रामा लागूऔषधसहित पक्राउ गरेको हो ।

 

मेचीनगर ६ स्थित भान्सा खोलामा भारतबाट नेपालतर्फ आउँदै गर्दा बर्मनलाई शंकास्पद अवस्थामा फेला पारी खानतलासी गर्दा उनको साथबाट प्लाष्टिकसहित १५० ग्राम ९८० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

 

लागूऔषधसहित उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट झापा जिल्ला अदालतमा उपस्थित गराई ५ दिन म्याद थप गरी अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।