दमक । झापाको दमकमा रहेको ढावा होटलमा एक युवती मृत फेला परेकी छन् । आज बिहान ११ बजे दमक ६ मा रहेको ढावा होटलमा शिवसताक्षी ११ दूधेकी २४ वर्षीया करिष्मा निरौला झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।
करिष्मा होटलमा आई कोठा नम्बर १७ मा बसेकी थिइन् । आज बिहान १० बजेसम्म होटल सञ्चालक युवराज दंगालले बोलाउँदा नबोलेपछि र ढोकासमेत नखोलेपछि इलाका प्रहरी कार्यालय दमकमा जानकारी गराएका थिए ।
इलाकाको प्रहरी टोली खटिएर स्थानीय जनप्रतिनिधि तथा आफन्त समेतको रोहबरमा ढोका फोरी हेर्दा उनले कोठाको सिलिङ फेनमा सलको पासो घाँटीमा लगाई झुन्डिएर आत्महत्या गरेको फेला परेको थियो ।
उनले आत्महत्या गर्नुपर्ने कारण खुलिसकेको छैन । कानुनी प्रकृया पूरा गरी शव पोष्टमार्टमको लागि दमक अस्पताल पठाएको प्रहरीले जनाएको छ । ती युवती विवाहित भए पनि यसअघि नै सम्बन्ध विच्छेद गरिसकेकी बताइएको छ । उनी हालै वैदेशिक रोजगारबाट घर फर्किएकी थिइन् ।