झापा । शिवसताक्षी ८ स्थित झिलझिलेका एक किशोर २ दिनदेखि बेपत्ता भएका छन् । झिलझिले माविमा कक्षा १० मा अध्ययनरत १६ वर्षीय प्रचिन लुइँटेल शनिबार दिउँसोदेखि सम्पर्कविहीन भएका हुन् ।
परिवारका अनुसार प्रचिन आफ्नी दिदी पुष्पा लुइटेलसँग शनिबार काँकरभिट्टा गएका थिए । दिदी पुष्पाले शनिबार भाइको स्कुल छुट्टी भएकाले आफन्त भेट्न काँकडभिट्टाको बर्मेली टोल लगेकी थिइन् ।
घरायसी सामान किन्न दिदी भारतको पानीट्याङ्की जानुअघि भाइलाई ठुलो मम्मीको घरमै छोडेकी थिइन् । तर, पानीट्याङ्कीबाट फर्केर आउँदा भाइ घरमा नभएको उनका दिदीले सुनाइन् ।
ठूलो मम्मीका अनुसार ‘शौचालय जान्छु’ भनेर घरबाहिर निस्केका प्रचिन फर्किएका छैनन् । वेपत्ता किशोरका परिवार, अन्य आफन्तले चिनजानका ठाउँ र काँकरभिट्टाका गल्ली-गल्लीसम्म खोजी गरे पनि उनी फेला परेका छैनन् ।
किशोर बेखबर भएपछि आफन्तले इलाका प्रहरी कार्यालय काँकरभिट्टा र इलाका प्रहरी कार्यालय झिलझिलेसमेत लिखित उजुरी दिएको बताएका छन् । जिल्ला प्रहरी कार्यालय झापाले पनि किशोर बेपत्ता भएको पुष्टि गरेको छ ।
किशोरकी आमाको कारोना संक्रमण भएर मृत्यु भएको थियो । बाबु बैदेशिक रोजगारमा छन् । उनी दिदी पुष्पासँग बस्दै आएका थिए । यसैबीच, उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।