अर्जुनधारा । झापाको अर्जुनधारा ९ मा रहेको शनिश्चरे नगर अस्पताल जिल्लाकै उत्कृष्ट आधारभूत/नगर अस्पतालको सूचीमा रहेको छ ।

 

जिल्ला स्वास्थ्य कार्यालय झापाले आधारभूत/नगर अस्पतालहरुको न्यूनतम सेवा मापदण्ड मूल्यांकन कार्यक्रमको आधारमा शनिश्चरे नगर अस्पताल उत्कृष्टको सूचीमा रहेको जनाएको हो । स्वास्थ्य कार्यालय झापाले जिल्लाका ४ वटा पालिकामा मापदण्ड मूल्यांकन कार्यक्रम गरेकाे हाे ।

 

झापा जिल्लामा पहिलोपल्ट आधारभूत/नगर अस्पतालहरुको न्यूनतम सेवा मापदण्ड मूल्यांकन गरिएको जिल्ला जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले जानकारी दिए । उनका अनुसार अर्जुनधारा, बिर्तामोड, कनकाई नगरपालिका र गौरीगञ्ज गाउँपालिकाको अस्पतालको मूल्यांकन गरिएको हो । मेचीनगरकाे मूल्यांकन गर्न बाँकी रहे पनि उत्कृष्टमा नरहने बताइएकाे छ ।

 

जसमा गुणस्तरीय सेवा प्रवाह मूल्यांकनको आधार, भौतिक पूर्वाधार, मावन शंसाधन, अत्याधुनिक औजार उपकरणहरुको न्यूनतम सेवा मापदण्ड (एमएसएस) मूल्यांकन गरिँदा शनिश्चरे नगर अस्पतालले ७० प्रतिशत पूरा गरेका कारण उत्कृष्ट सूचीमा परेको जनस्वास्थ्य निरीक्षक श्रेष्ठको भनाइ छ ।

 

अर्जुनधाराका नगर प्रमुख बलदेवसिंह गोम्देनको अध्यक्षतामा अस्पतालमा आज भएको एक संक्षिप्त कार्यक्रममा जनस्वास्थ्य निरीक्षक श्रेष्ठले ६५० वटाभन्दा बढी सूचांकको आधारमा शनिश्चरे नगर अस्पतालले ७० प्रतिशत अंक पाएको जानकारी गराएका थिए ।

 

नगर प्रमुख गोम्देनले अस्पतालको सेवा प्रवाहबारे अझ दत्तचित्त भएर लाग्न चिकित्सकलाई निर्देशन दिँदै धन्यवाद प्रकट गरेका छन् । यस्तै, अस्पतालमा गुणस्तरीय सेवा प्रवाहका लागि नगरको सहयोग रहने भन्दै उनले प्रतिबद्धता जनाए । उनले भौतिक पूर्वाधार तयार भएपछि शतप्रतिशत सेवा दिन सकिने सुनाए ।

 

१५ शैय्याको यस अस्पतालमा ओपीडीबाहेक अन्य सेवा प्रवाह २४ घण्टा नै खुला रहेको मेडिकल सुपरिटेण्डेन्ट डा. योगेश चेम्जोङले बताए । उनका अनुसार दैनिक ४ सयभन्दा बढी सेवाग्राहीले एमबीबीएस र स्त्री रोग तथा प्रसुती विशेषज्ञ (एमडीजीपी) चिकित्सकबाट स्वास्थ्य सेवा लिइरहेका छन् ।

 

अर्जुनधारासँगै छिमेकी पालिकाहरु बिर्तामोड, बुद्धशान्ति, रोङ, माई, मेचीनगर, कनकाई र दमकबाट सेवाग्राही आउने यस अस्पताल अपांगमैत्री बनाइनुपर्ने, फोहोर व्यवस्थापनलाई अझ व्यवस्थित गरिनुपर्ने, आवश्यकताअनुसार भौतिक संरचनाको निर्माण र नगर अस्पतालको मापदण्डअनुरुप स्थायी कर्मचारीको अभाव रहेको औँल्याइएको छ ।

 

यसैगरी, नेपालमै पहिलोपल्ट १० महिनाअघि सुरु गरिएको आमा सुरक्षा कार्यक्रमअन्तर्गत २५० जनाले सेवा लिएका छन् । अस्पताल प्रशासन प्रमुख राजविक्रम खड्काका अनुसार साधारणतर्फ १४० जना र शल्यक्रियामार्फत १०४ जनाको प्रसुति गरिएको छ ।

 

यस्तै, डा. चेम्जोङका अनुसार यसै अस्पतालमा ३ वटा पाठेघरको ट्युमर र ३ वटा डिम्वाशयको ट्युमर सफलतापूर्वक शल्यक्रिया गरिएको छ । जसमा ७ सेन्टिमिटरदेखि डेढ केजीसम्मको ट्युमर निकालिएको थियो ।