सन् २०१९ मा २३औं पटक सफल आरोहण गर्दाकाे फाइल तस्वीर ।

काठमाण्डौ । प्रख्यात आरोही गाइड कामीरिता शेर्पाले ३१औं पटक सगरमाथाको आरोहण गरेका छन् । शेर्पाले आफ्नो रेकर्ड ब्रेक गर्दै सगरमाथा आरोहण गरेका हुन् । यो उनको विश्व रेकर्ड हो ।

 

‘एभरेष्ट म्यानले फेरि गर्‍यो चमत्कार ! ३१ औं पटक सगरमाथा आरोहण’, सेभेन समिट ट्रेक्सका सञ्चालक छाङ दावा शेर्पाले फेसबुकमा लेखेका छन्, ‘इतिहासमै सबैभन्दा धेरैपटक सगरमाथा आरोहणको कीर्तिमानी ५५ वर्षीय कामीरिता शेर्पालाई ३१औं पटकको सफल आरोहणका लागि बधाई । सेभेन समिटसँगको यात्रामा ।’

 

कामीरिताले मंगलबार बिहान ४ बजे सगरमाथा आरोहण गरेका थिए । उनी २२ जना भारतीय सैनिकहरूको आरोहण दलको मुख्य गाइडका रूपमा सगरमाथा आरोहण गर्न गएका थिए । उनी भोलि बिहानसम्म ५२ सय मिटर उचाइको सगरमाथा आधार शिविरसम्म फर्किने छन् । त्यहाँबाट हेलिकोप्टर उडानबाट काठमाडौं फर्किने तालिका छ ।

 

दुई सन्तान र पत्नीसहित काठमाडौंमा बस्दै आएका कामीरिता १२ वर्षको उमेरदेखि हिमाल आरोहण क्षेत्रमा लागेका थिए । सोलुखुम्बुको थामेका कामीरिताले २४ वर्षको उमेरमा २०५१ सालमा पहिलोपटक सगरमाथा आरोहण गरेका थिए ।

 

त्यसयता उनी सगरमाथा केटू, मनास्लु, ल्होत्से लगायतका ८ हजार अग्ला हिमालहरू ४५ पटक उक्लिसकेका छन् । उनले एकै सिजनमा दोहोर्‍याएर पाँच पटक सगरमाथा आरोहण गरिसकेका छन् ।