मोरङ । मोरङको सुन्दरहरैंचामा शनिबार बिहान माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान-श्रीमतीको ज्यान गएको छ।

 

सुन्दरहरैंचा नगरपालिका ७ निवासी ५८ वर्षीय पूर्णबहादुर लिम्बू र उनकी ५२ वर्षीया पत्नी फूलमाया लिम्बूको माछा मार्ने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो।

 

मोरङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी कोपिला चुँडालका अनुसार मदेली खोलाको पुलमुनि विद्युत प्रवाह गरेर माछा मार्ने क्रममा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

 

मृतक पूर्णबहादुरले बिजुलीको पोलबाट हुक जोडेर खोलामा करेन्ट प्रवाह गर्दा श्रीमतीसहित आफैँ पनि करेन्ट लागेर ज्यान गुमाएका हुन्। घटना शनिबार बिहान करिब ९ः४० बजे भएको हो।

 

दुबै जनाको शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको जनाएको छ।