भोजपुर । भोजपुरमा लोपउन्मुख वन्यजन्तु रेड पान्डा (हाब्रे) संरक्षण गर्न क्यामेरा जडान गरिएको छ । स्थानीय चार वटा सामुदायिक वनमा क्यामेरा जडान गरिएको हो ।

 

यहाँ रेड पान्डा पाइने स्थानको छनोट गरेर संरक्षणको काम गरिएको हो । रेड पान्डा पाइने सामुदायिक वनमा ४८ वटा क्यामेरा जडान गरेर रेड पान्डाको अवस्थाको विषयमा जानकारी लिने काम भइरहेको रेड पान्डा नेटवर्कले जनाएको छ ।

 

यहाँको नयाँ खर्क, भुरुखेक, धप्परे एकराते र मैयुङ सामदायिक वनमा क्यामेरा जडान गरिएको सामूहिक अभियान भोजपुरका अध्यक्ष गणेश श्रेष्ठले जानकारी दिए । यहाँको धप्परे एकराते सामुदायिक वनमा रेड पान्डा फेला भएको उनको भनाइ छ ।

 

रेड पान्डाको संरक्षणको लागि यहाँको टेम्केमैयुङ १ सावामा रहेको भुरुखेक र महाभिर वाल्वानी सामुदायिक वनमा आठ हजार मालिङ्गो बिरुवा रोपन गरिएको डिभिजन वन कार्यालय भोजपुरका अधिकृत कपिलदेव अधिकारीले जानकारी दिए। रेड पान्डासँगै अन्य वन्यजन्तुको संरक्षणको लागि यी क्षेत्रमा तीन वटा ठूला पोखरीसमेत निर्माण गरिएको उनको भनाइ छ ।

 

गत आर्थिक वर्षमा पोखरी निर्माण तथा रेड पान्डाको आहार मालिङ्गो रोपनको लागि श्रमदानसहित १३ लाख ३० लागत बराबरको काम सम्पन्न भएको अधिकृत अधिकारीले जानकारी दिए ।